भैरहवा। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै सम्पत्ति शुद्धीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल मार्केटिङसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को निर्धारित लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरूको सम्मान तथा सदस्यता वितरणका लागि भैरहवास्थित होटल सिद्धार्थ भिलासामा वार्षिक चेयरपर्सन क्लब कार्यक्रम आयोजना गरेको हो। दुई रात तीन दिनसम्म चलेको कार्यक्रममा कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख, मार्केटिङ कर्मचारी तथा अभिकर्तासहित ५६५ जनाको सहभागिता रहेको थियो।
भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तथा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारणबाट कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रममा चेयरपर्सन प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन्।उद्घाटनका क्रममा सिंहले कम्पनीको मेरुदण्डका रूपमा रहेका अभिकर्तालाई थप व्यावसायिक र दक्ष बनाउन सीप तथा क्षमता विकासमा निरन्तर लगानी र सहकार्य गर्ने बताइन्। अभिकर्ता सञ्जालमा नेतृत्व विकास महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा कम्पनीले आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले आर्थिक वर्ष २०८२/८३ मा हासिल भएको व्यावसायिक उपलब्धि नेशनल लाइफ परिवारको सामूहिक सफलता भएको बताए। नयाँ आर्थिक वर्षमा स्पष्ट लक्ष्य, मापनयोग्य रणनीति र उच्च व्यावसायिक प्रतिबद्धताका साथ अघि बढ्दै अभिकर्ता सञ्जाललाई थप मजबुत बनाउने तथा ग्राहक सेवाको गुणस्तर सुधारमा जोड दिइएको उनले बताए।कार्यक्रममा चेयरपर्सन क्लब सदस्यता वितरण गर्नुका साथै सञ्जाल तथा व्यक्तिगत कोडअन्तर्गत नेपालभर प्रथम, द्वितीय र तृतीय हुने, समूहगत व्यवसायमा प्रथम हुने, सेन्चुरियन क्लब, नेशनल स्टार, नेशनल सुपरस्टार तथा लगातार १० वर्षसम्म चेयरपर्सन क्लबमा छनोट हुन सफल अभिकर्तालाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी अभिकर्ताको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिका लागि विभिन्न विषयमा प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो। नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद साडारीले सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण दिँदै बीमालाई माध्यम बनाएर समेत सम्पत्ति शुद्धीकरणका गतिविधि हुन सक्ने भएकाले शंकास्पद गतिविधिको निगरानी, आवश्यक पहिचान र प्रचलित कानुनी व्यवस्थाको पालनामा सबै पक्ष सचेत हुनुपर्ने बताए। प्रशिक्षक विश्वराज पौडेलले कृत्रिम बुद्धिमत्ता ९एआई० का प्रयोगात्मक उदाहरण प्रस्तुत गर्दै बीमा व्यवसायमा एआईको उपयोगबारे प्रशिक्षण दिएका थिए। ग्राहकसँगको सम्पर्क, सामग्री निर्माण, व्यावसायिक योजना तथा सूचना व्यवस्थापनलगायतका क्षेत्रमा एआईको प्रयोग गर्न सकिने उनले बताए।
त्यस्तै, प्रशिक्षक सञ्जोग कोइरालाले डिजिटल माध्यमको प्रभावकारी प्रयोगबाट बीमा व्यवसाय विस्तारमा लाभ लिन सकिने बताए। डिजिटल प्लेटफर्म प्रयोग गर्दा प्रचलित कानुन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै सत्यतथ्य सूचना र स्वीकृत सामग्री मात्र सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए। भ्रामक समाचार, गलत सूचना वा गलत भाष्य सिर्जना गर्दा कानुनी जटिलता आउन सक्ने भएकाले यसतर्फ सचेत रहनुपर्ने उनको भनाइ थियो।
सम्मानित अभिकर्ताहरूले चेयरपर्सन क्लबमा छनोट हुन वर्षभर निरन्तर मेहनत, अनुशासन र उत्कृष्ट व्यावसायिक प्रदर्शन आवश्यक पर्ने भन्दै कार्यक्रममा सहभागी हुन पाउनु गौरवको विषय भएको बताएका थिए। वर्षभरको मेहनतको परिणामस्वरूप प्राप्त सम्मानले आफ्नो परिश्रमलाई सार्थक बनाएको उनीहरूको भनाइ थियो।















प्रतिक्रिया दिनुहोस्