काठमाडौं। प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत र जग्गा खरिदका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ।
बैंकका अनुसार यो सुविधा देशभरका ३०० शाखाबाट उपलब्ध हुनेछ। योजनाले विदेशमा रहेका नेपालीलाई आफ्नो तथा परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माण वा खरिद गर्न सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्य राखेको छ। यसैगरी, योजनाअन्तर्गत बढीमा दुई जना सन्तानको नेपाल वा विदेशमा अध्ययनका लागि औसत आधार दरमा थप १ प्रतिशत ब्याजदरमा शैक्षिक कर्जा सुविधा उपलब्ध गराइनेछ। शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट तथा पहिलो वर्ष निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा समेत उपलब्ध गराइएको बैंकले जनाएको छ।
प्रभु बैंकले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणलाई औपचारिक बैंकिङ प्रणालीमार्फत परिचालन गर्दै निक्षेप विस्तार, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह तथा प्रवासी नेपालीसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्ने उद्देश्यले योजना ल्याएको जनाएको छ। बैंकले ग्राहकको बदलिँदो वित्तीय आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै सहज, भरपर्दो तथा ग्राहककेन्द्रित बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्