काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक डाकेर चुक्तापुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ ।
कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा असोज २७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटलमा आयोजना गर्ने निर्णय गरेको हो । सभाको प्रमुख एजेन्डा हाल कायम एक शेयरबराबर अर्को एक शेयर (१ः१) अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव हो। प्रस्ताव पारित भए कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४९ लाख २५ हजार कित्ता हकप्रद शेयर जारी गर्न सक्नेछ ।
हाल कम्पनीको चुक्तापुँजी ४९ करोड २५ लाख रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रदबाट समान रकमको थप पुँजी जुटेपछि चुक्तापुँजी ९८ करोड ५० लाख रुपैयाँ पुग्नेछ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्रै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
साधारणसभामा तीनवटै आर्थिक वर्षका वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य वित्तीय विवरण अनुमोदन गरिने प्रस्ताव छ ।साथै, आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लेखापरीक्षक तथा पारिश्रमिक अनुमोदन गर्ने र चालु आर्थिक वर्ष २०८३र८४ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने कार्यसूची पनि समावेश गरिएको छ । कम्पनीले एक महिलासहित तीन सञ्चालक निर्वाचित गर्ने तथा सञ्चालक समिति गठनसम्बन्धी प्रस्ताव पनि सभामा लैजाने जनाएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्