काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति एक महिनामै १.२ प्रतिशतले बढेर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको आर्थिक तथा वित्तीय विवरणअनुसार साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो। असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा भने विदेशी विनिमय सञ्चिति असार मसान्तको २५ अर्ब ३१ करोड डलरबाट २.१ प्रतिशतले बढेर साउन मसान्तमा २५ अर्ब ८४ करोड डलर पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १.३ प्रतिशतले बढेको छ। असार मसान्तमा राष्ट्र बैंकसँग ३४ खर्ब ७३ अर्ब १९ करोड रुपैयाँ रहेको सञ्चिति साउन मसान्तमा बढेर ३५ खर्ब १७ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ०.९ प्रतिशतले बढेको छ। असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ रहेको यस्तो सञ्चिति साउन मसान्तमा बढेर ४ खर्ब २८ अर्ब २२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.८ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २१.८ महिनाको वस्तु आयात धान्न पर्याप्त हुने देखिएको छ। त्यस्तै, विद्यमान सञ्चितिले १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको छ। साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ५९.८ प्रतिशत, १५७ प्रतिशत र ४४.५ प्रतिशत रहेको छ। असार मसान्तमा यी अनुपात क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए।
यसअनुसार एक महिनाको अवधिमा विदेशी विनिमय सञ्चितिको जीडीपीसँगको अनुपात ०.७ प्रतिशत बिन्दुले बढेको छ। विस्तृत मुद्राप्रदायसँगको अनुपात पनि ०.७ प्रतिशत बिन्दुले बढेको छ भने कुल आयातसँगको अनुपात ६.४ प्रतिशत बिन्दुले घटेको छ।














प्रतिक्रिया दिनुहोस्