काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनमा निजी क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशत अर्थात् २३ अर्ब ५८ करोड रुपैयाँले बढेर ५८ खर्ब ८० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशत अर्थात् २ अर्ब ९३ करोड रुपैयाँले घटेको थियो । वार्षिक विन्दुगत आधारमा भने २०८३ साउन मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकको कर्जा बढ्दा विकास बैंकको घट्यो
साउन मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फको हिस्सा ६२.३ प्रतिशत रहेको छ । व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाहित कर्जाको हिस्सा ३७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको हिस्सा ३७.३ प्रतिशत थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ वाणिज्य बैंकहरूको कर्जा ०.५ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा ०.१ प्रतिशतले बढेको छ । विकास बैंकहरूको कर्जा भने ०.३ प्रतिशतले घटेको छ ।
६३ प्रतिशत कर्जा घरजग्गा धितोमा
बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कुल कर्जामध्ये ६३ प्रतिशत घरजग्गा धितो सुरक्षणमा रहेको छ । त्यस्तै, चालु सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको सुरक्षणमा रहेको कर्जाको हिस्सा १५.३ प्रतिशत छ । २०८२ साउन मसान्तमा घरजग्गा धितो सुरक्षणमा रहेको कर्जाको हिस्सा ६४.४ प्रतिशत र चालु सम्पत्तिको सुरक्षणमा रहेको कर्जाको हिस्सा १४.८ प्रतिशत थियो ।
खनिज र उत्पादन क्षेत्रमा कर्जा लगानी बढ्यो
साउनमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमध्ये खनिज क्षेत्रमा ३.७ प्रतिशतले वृद्धि भएको छ । धातुजन्य उत्पादन, यन्त्र तथा विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रमा ३ प्रतिशत र निर्माण क्षेत्रमा २.१ प्रतिशतले कर्जा बढेको छ । त्यस्तै, सेवा उद्योग क्षेत्रमा १.८ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १.२ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रमा ०.८ प्रतिशत, थोक तथा खुद्रा व्यापारमा ०.३ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ०.३ प्रतिशतले कर्जा वृद्धि भएको छ ।अर्कोतर्फ, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा कर्जा ५.१ प्रतिशतले घटेको छ । कृषि क्षेत्रमा ०.९ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.६ प्रतिशतले कर्जा घटेको राष्ट्र बैंकले जनाएको छ ।
आवधिक कर्जा बढ्दा विपन्न वर्गको कर्जा घट्यो
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा १.५ प्रतिशतले बढेको छ । ट्रस्ट रिसिट (आयात) कर्जा १ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.७ प्रतिशत र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले बढेको छ । यता विपन्न वर्ग कर्जा ७.३ प्रतिशतले घटेको छ। अधिविकर्ष कर्जा २.६ प्रतिशत, क्यास क्रेडिट कर्जा १.१ प्रतिशत तथा माग तथा अन्य चालु पुँजी कर्जा ०.५ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।














प्रतिक्रिया दिनुहोस्