काठमाडौं । यस वर्षको तिहारमा फूलका माला, सयपत्रीका पोली तथा गोदावरीका गमलाको बिक्रीबाट ६४ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी हुने अनुमान गरिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार तिहारमा सयपत्री, मखमली, गोदावरी तथा विभिन्न फूल मिसाएर तयार गरिएका मालाको कारोबार ४८ करोड रुपैयाँ र जीवित फूलका पोली तथा गमलाको कारोबार १६ करोड ५० लाख रुपैयाँ पुग्ने अपेक्षा गरिएको हो।
एसोसिएसनले मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार यस वर्ष तिहारमा करिब ५१ लाख ८० हजार फूलका माला खपत हुनेछन्। त्यस्तै, घर, आँगन, कार्यालय तथा व्यावसायिक परिसर सजावटका लागि ३५ लाख सयपत्रीका पोली तथा बोट र आठ लाख गोदावरीका गमला बिक्री हुने अनुमान छ । तिहार नेपाली पुष्प व्यवसायका लागि सबैभन्दा महत्त्वपूर्ण मौसमी बजारमध्ये एक हो। यस अवधिमा फूलको माग बढ्ने भएकाले कृषक तथा पुष्प व्यवसायीको आम्दानी, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
तिहारमा ४८ करोड रुपैयाँको माला बिक्री हुने
एसोसिएसनका अनुसार यस वर्ष तिहारमा सबैभन्दा धेरै सयपत्रीका माला खपत हुनेछन्। करिब ४५ लाख सयपत्रीका माला बिक्री हुने अनुमान गरिएको छ। मखमलीका छ लाख, गोदावरीका २० हजार र विभिन्न फूल मिसाएर तयार गरिएका ६० हजार माला खपत हुने अनुमान छ । प्रारम्भिक विवरणअनुसार सयपत्रीका मालाबाट ४० करोड ५० लाख रुपैयाँ, मखमलीका मालाबाट दुई करोड ७० लाख रुपैयाँ, गोदावरीका मालाबाट दुई करोड ४० लाख रुपैयाँ र मिक्स मालाबाट दुई करोड ४० लाख रुपैयाँ कारोबार हुने अपेक्षा गरिएको छ । यसरी चार प्रकारका मालाको कुल कारोबार ४८ करोड रुपैयाँ पुग्ने अनुमान व्यवसायीहरुले गरेका छन् ।
गत वर्ष तिहारमा व्यावसायिक रूपमा उत्पादित करिब ४० लाख सयपत्रीका माला खपत भएका थिए । यस वर्ष बजार विस्तार र उत्पादनका कारण सयपत्रीका मालाको कारोबार बढेर ४५ लाख पुग्ने अनुमान एशोसिएसनको रहेको छ। यद्यपि, २०८३ असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण केही क्षेत्रमा सयपत्री खेतीमा क्षति पुगेको एसोसिएसनले जनाएको छ। उक्त क्षतिका बाबजुद आन्तरिक उत्पादनबाट करिब ४० लाख माला बराबरको आपूर्ति हुने अनुमान छ । बाँकी माग पूरा गर्न स्थानीय तथा ग्रामीण क्षेत्रबाट उत्पादित फूल बजारसम्म पुर्याउने र आवश्यक परे अपुग फूलको व्यवस्थापन गर्ने पहल भइरहेको एसोसिएसनले जनाएको छ ।
जीवित फूलका पोली तथा गमलाबाट साढे १६ करोडको कारोबार गर्ने लक्ष्य
तिहारमा मालासँगै जीवित फूलका पोली तथा गमलाको व्यापार पनि उल्लेख्य हुने अनुमान गरिएको छ। यस वर्ष ३५ लाख सयपत्रीका पोली तथा बोट बिक्री हुने र प्रतिपोली औसत ३० रुपैयाँका दरले १० करोड ५० लाख रुपैयाँ कारोबार हुने अपेक्षा गरिएको छ । त्यस्तै, आठ लाख गोदावरीका गमला बिक्री हुने अनुमान छ । प्रतिगमला औसत ७५ रुपैयाँका दरले बिक्री हुँदा यसबाट छ करोड रुपैयाँको कारोबार हुने एसोसिएसनको अनुमान छ । एशोसिएसनका अनुसार यसरी सयपत्रीका पोली तथा गोदावरीका गमलाबाट मात्रै १६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुने देखिएको छ। मालाको ४८ करोड रुपैयाँको अनुमानित कारोबारसमेत जोड्दा तिहार लक्षित फूलको कुल कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने अपेक्षा गरिएको हो । जीवित फूलका बोट तथा गमलाको माग घरायसी सजावटमा मात्र सीमित नभई कार्यालय र व्यावसायिक परिसरको सजावटमा समेत बढ्दै गएको पुष्प व्यवसायीहरूको भनाइ छ ।
मखमलीको उत्पादनमा आत्मनिर्भर नेपाल
मखमली फूलको उत्पादनमा नेपाल आन्तरिक माग पूरा गर्न सक्षम रहेको एसोसिएसनले जनाएको छ। यस वर्ष तिहारमा करिब छ लाख मखमलीका माला बराबरको बजार हुने अनुमान गरिएको छ। यसमध्ये चार लाख माला आन्तरिक बजारमा खपत हुने र दुई लाख माला निर्यात हुने अपेक्षा गरिएको छ। काठमाडौंको इचङ्गुनारायण, भक्तपुरको गुण्डु, ललितपुरको गोदावरी–बडिखेल, धादिङ, पाल्पा, कैलाली तथा इलामलगायतका क्षेत्रमा मखमली फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ । मखमलीको तुलनामा सयपत्रीको माग ठूलो रहेकाले यसको उत्पादन र आपूर्ति व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको एसोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी दिए ।
सातै प्रदेशमा सयपत्री खेती विस्तार
एसोसिएसनले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार नेपालमा २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ। सातै प्रदेशका विभिन्न जिल्लामा यसको खेती विस्तार हुँदै गएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिराहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलालीलगायतका जिल्लामा सयपत्रीको व्यावसायिक उत्पादन भइरहेको छ । एसोसिएसनका अनुसार ग्रामीण तथा उत्पादन क्षेत्रमा सयपत्रीको माग लगभग पूर्ण रूपमा स्वदेशी उत्पादनबाट पूरा गर्न सकिने अवस्था छ । तर, मुख्य सहरी तथा बजार केन्द्रित क्षेत्रमा करिब ८८.८९ प्रतिशत माग आन्तरिक उत्पादनबाट पूर्ति हुने र बाँकी ११.११ प्रतिशत माग व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।
वर्षाका कारण स्वदेशी उत्पादनमा क्षति
यस वर्षको अविरल वर्षाका कारण केही क्षेत्रमा सयपत्री खेती प्रभावित भए पनि देशका विभिन्न उत्पादन क्षेत्रबाट बजारमा फूल आपूर्ति भइरहेको एसोसिएसनले जनाएको छ। उत्पादन क्षेत्रबाट बजार केन्द्रसम्म फूलको सहज ढुवानी, उचित मूल्य निर्धारण तथा बजार व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख छ। एसोसिएसनका अध्यक्ष श्रेष्ठले तिहारका लागि आवश्यक फूलको माग सकेसम्म स्वदेशी उत्पादनबाट पूरा गर्न उपभोक्ता, व्यापारी तथा सरोकारवालालाई आग्रह गरेका छन् । ‘तिहारमा स्वदेशी फूलको प्रयोगलाई प्राथमिकता दिनु भनेको नेपाली कृषक र पुष्प व्यवसायीलाई प्रत्यक्ष रूपमा सहयोग गर्नु हो । यसले स्वदेशी उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्रोत्साहन गर्छ,’ श्रेष्ठले भने । उनका अनुसार स्वदेशी फूलको खपत बढाउँदा कृषकको आम्दानी वृद्धि हुनुका साथै पुष्प व्यवसायको विस्तारमा समेत सहयोग पुग्नेछ। बजारमा फूलको सहज आपूर्ति र उचित व्यवस्थापनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको एसोसिएसनको भनाइ छ ।एसोसिएसनले तिहारमा नेपाली उत्पादनका फूल प्रयोग गर्न आग्रह गर्दै दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना पनि व्यक्त गरेको छ।
तिहारमा फूलको बढ्दो कारोबारले नेपाली पुष्प व्यवसायको बजार विस्तारलाई संकेत गरेको छ। मालाको व्यापारसँगै जीवित फूलका पोली तथा गमलाको बिक्रीसमेत उल्लेख्य रहेकाले यस क्षेत्रको आर्थिक गतिविधिको दायरा फराकिलो हुँदै गरएको देखिन्छ। स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न सके कृषकले उचित मूल्य पाउने, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुने र आयातमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा एशोसिएसनले गरेको छ ।















प्रतिक्रिया दिनुहोस्