काठमाडौं। अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्। उनले अर्थमन्त्रीको अभिव्यक्तिले नेपालको लामो समयदेखि कायम रहँदै आएको सैद्धान्तिक परराष्ट्र नीतिको आधार कमजोर बनाउने जोखिम रहेको बताएका हुन् ।
भारतको एक टेलिभिजन च्यानलमा हालै अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी राष्ट्रवादको युग अन्त्य भएको धारणा व्यक्त गरेका थिए। उनको उक्त अभिव्यक्तिप्रति नेपालमा विभिन्न क्षेत्रबाट प्रतिक्रिया आइरहेका बेला अभिनेता हमालले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
हमालले अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यादेशको सीमा नाघेको देखिएको उल्लेख गर्दै सार्वजनिक अभिव्यक्ति दिँदा नेपालको राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई ध्यान दिनुपर्ने बताएका छन्।
‘अर्थमन्त्रीले आफ्नो मन्त्रीस्तरीय कार्यादेशको सीमा नाघेको देखिन्छ। उहाँका अभिव्यक्तिले नेपालको लामो समयदेखि कायम रहेको सैद्धान्तिक परराष्ट्र नीतिको आधारलाई नै कमजोर बनाउने जोखिम उत्पन्न गरेका छन्,’ हमालले लेखेका छन्। उनले नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तमा आधारित रहनुपर्ने उल्लेख गरेका छन्। कुनै पनि पदाधिकारीले व्यक्तिगत धारणा वा तत्कालीन राजनीतिक स्वार्थका आधारमा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिन नहुने उनको भनाइ छ।
नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, भौगोलिक र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै हमालले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन गरिने इमानदार प्रयासको स्वागत गर्नुपर्ने बताएका छन्। तर, सम्बन्ध सुधारका नाममा नेपालको राष्ट्रिय अडान र कूटनीतिक गरिमामा सम्झौता गर्न नहुने उनको धारणा छ। ‘नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा यति महत्त्वपूर्ण र रणनीतिक दृष्टिले यति संवेदनशील छ कि यसलाई व्यक्तिगत ताबेदारीका हाउभाउ वा सार्वजनिक उपहास निम्त्याउने अभिव्यक्तिमा सीमित गर्न सकिँदैन,’ हमालले भनेका छन्।
उनले नेपाल र भारतबीचको सम्बन्धमा समाधान हुन बाँकी सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषय पनि रहेको स्मरण गराएका छन्। यस्ता विषयलाई स्पष्ट पार्न सरकारले अस्पष्ट भाषणबाजी वा खोक्रो आश्वासनभन्दा स्थापित कूटनीतिक माध्यम, प्रमाणमा आधारित तर्क र मैत्रीपूर्ण संवादलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ। हमालका अनुसार छिमेकीसँगको मित्रता र नेपालको सार्वभौमिकताप्रतिको निष्ठा एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्। बरु यी दुवै एकअर्काका परिपूरक जिम्मेवारी हुन्। नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएकै कारण भरपर्दो साझेदार बन्न सक्ने उल्लेख गर्दै उनले राष्ट्रिय पहिचानप्रति आत्मविश्वास राखेर छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्न सकिने बताएका छन्। उनका अनुसार मित्रवत् सम्बन्ध कायम राख्दै राष्ट्रिय हित, सार्वभौमिकता र स्वाभिमानको रक्षा गर्नु नेपालको कूटनीतिको महत्त्वपूर्ण पक्ष हो।















प्रतिक्रिया दिनुहोस्