काठमाडौं। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि सरकारले पदयात्रा (ट्रेकिङ) अनुमति जारी गर्न रोक लगाएको छ। सरकारले पर्यटक तथा पदयात्रीलाई जोखिमयुक्त क्षेत्रमा नजान र पदयात्रामा रहेकालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले मंगलबार अत्यन्त जरुरी सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो। विभागले उक्त क्षेत्रका निषेधित स्थानमा जाने पदयात्रा अनुमति मंगलबारदेखि जारी नहुने जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त तीन दिन उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएपछि विभागले यस्तो निर्णय गरेको हो। विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले जारी गरेको सूचनामा यसअघि नै पदयात्रा अनुमति लिइसकेका पर्यटक तथा पदयात्रीलाई समेत जोखिमयुक्त अवधिभर यात्रा नगर्न आग्रह गरिएको छ। पदयात्रामा गइसकेकाहरूलाई सुरक्षित स्थानमा रहन र मौसम अनुकूल नहुँदासम्म जोखिमपूर्ण यात्रा नगर्न भनिएको छ।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’का कारण मौसममा प्रभाव पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार उक्त चक्रवात भारतको विशाखापट्टनम आसपास जमिनमा प्रवेश गर्ने सम्भावना छ। जमिनमा प्रवेश गरेपछि चक्रवात कमजोर बन्न सक्ने भए पनि त्यसको प्रभावसँग सम्बन्धित मौसमी प्रणालीका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम रहेको उनले बताएकी छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा सरोकारवालालाई सूचनाको पालना गर्न र जोखिमयुक्त क्षेत्रमा पदयात्रा गर्न तथा गराउन रोक्न आग्रह गरेको हो।













प्रतिक्रिया दिनुहोस्