काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले अब चाँदीको बल पुरस्कार पाउने भएका छन्। एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत खेलाडीलाई चाँदीको बल प्रदान गर्ने निर्णय गरेको हो।
क्रिकेट मैदानमा खेलाडीको व्यक्तिगत प्रदर्शनलाई सम्मान गर्दै प्रतियोगितालाई थप रोमाञ्चक बनाउने उद्देश्यले कम्पनीले यो पहल अघि बढाएको जनाएको छ। एनपीएलमा सहभागी आठ टोलीमध्ये एक्स्ट्रिमसँग प्रायोजन साझेदारीमा रहेका सात टोलीका खेलाडी यस पुरस्कारका लागि योग्य हुनेछन्। एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले चाँदीको बल प्राप्त गर्नेछन्।
प्रतियोगिताको पहिलो खेलबाटै यो पुरस्कार वितरणको सुरुआत भएको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको उद्घाटन खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्लले चाँदीको बल प्राप्त गरेका छन् । यो पुरस्कारले खेलाडीलाई व्यक्तिगत प्रदर्शनमा थप प्रेरित गर्नुका साथै एनपीएलमा प्रतिस्पर्धात्मक भावना र दर्शकको उत्साह बढाउन सहयोग पुग्ने अपेक्षा एक्स्ट्रिमले गरेको छ।















प्रतिक्रिया दिनुहोस्