काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिलाई लिएर सरकारको आलोचना गरेका छन्।
विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि मध्यरातमा धरपकड गरिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्। पौडेलले लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व बोकेको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियताभन्दा योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
मंगलबार उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै भनेका छन्, ‘विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई पो धरपकड ! त्यो पनि मध्यरातमै अनि फेरि नागरिकको हुर्मत लिएर लुसुक्क छाड्ने ! सरकारको यस्तो रबैयाको समर्थन गर्न सकिँदैन।’ लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएकाले यसको व्यवस्थापन गर्ने संस्थाको नेतृत्व चयनमा विशेष सावधानी अपनाउनुपर्ने पौडेलको भनाइ छ। उनले आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठिरहेको उल्लेख गर्दै ती प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
उनका अनुसार, सम्बन्धित प्रश्नको जवाफबिना सरकारले नियुक्तिको औचित्य पुष्टि गर्न र छनोटका आधार स्पष्ट पार्न सक्दैन। ‘आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेका छन्। ती प्रश्नको जवाफबिना सरकारले न नियुक्तिको औचित्य पुष्टि गर्न सक्छ, न छनोटका आधार बताउन सक्छ,’ पौडेलले भनेका छन्। सरकारलाई निर्णय सच्याउन सुझाव दिँदै पौडेलले आलोचना र प्रश्न उठाउने नागरिकलाई त्रसित बनाउने प्रवृत्ति त्याग्न आग्रह गरेका छन्। उनले सरकारको व्यवहारलाई अहंकार र सनकका रूपमा टिप्पणी गर्दै गलत निर्णय भए त्यसलाई सच्याउने साहस देखाउनुपर्ने बताएका छन्। ‘सरकारलाई मेरो विरोध होइन, सुझाव छ। राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ। गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन,’ पौडेलले लेखेका छन्।
कोषको उपाध्यक्षमा डोल्मालाई नियुक्त गरिएको विरोधमा आन्दोलन गरिरहेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान र अभियानी वाजिउद्दिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको थियो। सोमबार साँझ पक्राउ परेका दुई मध्ये लुम्बिनी बचाउ महाअभियानका संयोजक खानलाई प्रहरीले मंगलबार रिहा गरेको छ।














प्रतिक्रिया दिनुहोस्