काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले आगामी कात्तिक १४ र १५ गते चितवनमा विशेष अधिवेशन आयोजना गर्ने भएको छ। संगठनको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार अधिवेशनको मुख्य एजेन्डा विधान संशोधन रहेको छ।
नेशनल प्याब्सनका अनुसार अधिवेशन चितवनको सौराहास्थित एक रिसोर्टमा दिउँसो १ बजेदेखि अधिवेशन आयोजना हुनेछ। विशेष अधिवेशनमा संगठनको विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय लिइने जनाइएको छ। गृह मन्त्रालयको निर्देशन, उच्च अदालत पाटनको आदेश तथा मन्त्रालयबाट पुनः जारी गरिएको पत्रसमेतका आधारमा केन्द्रीय कार्यसमितिले तयार पारेको विधान संशोधनको पाँचौँ प्रस्ताव अधिवेशनमा प्रस्तुत गरिने जनाइएको छ।
संगठनको विधानको दफा २० (१) बमोजिम आह्वान गरिएको विशेष अधिवेशनमा प्रस्तावित संशोधनमाथि छलफल गरी आवश्यक निर्णय गर्ने तयारी गरिएको हो।नेशनल प्याब्सनले अधिवेशनमा सहभागी भई विधान संशोधनसम्बन्धी विषयमा छलफल तथा निर्णय प्रक्रियामा योगदान पुर्याउन आफ्ना सदस्य विद्यालयहरूलाई आग्रह गरेको छ। अधिवेशनले संगठनको विधानमा प्रस्तावित संशोधनबारे निर्णय गर्ने भएकाले यसलाई संगठनको आगामी कार्यदिशाका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।















प्रतिक्रिया दिनुहोस्