काठमाडौं। आधुनिक कृषि प्रविधि र उपकरणबारे जानकारी लिन काठमाडौंको भृकुटीमण्डपमा जारी आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा किसान तथा अवलोकनकर्ताले उल्लेख्य सहभागीता जनाएका छन् । प्रदर्शनीको दोस्रो दिन (शनिबार) मात्रै १९ हजार ३०५ जनाले अवलोकन गरेका छन् ।
आयोजकका अनुसार, शुक्रबारदेखि सुरु भएको तीनदिने प्रदर्शनीको पहिलो दिन ९ हजार ६६६ जनाले अवलोकन गरेका थिए । दोस्रो दिनको सहभागितासँगै दुई दिनमा प्रदर्शनी अवलोकन गर्नेको संख्या २८ हजार ९७१ पुगेको आयोजकले जनाएको छ। आयोजकले तीन दिनमा ५० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा राखेको छ। प्रदर्शनीमा काठमाडौं उपत्यकासहित मुगु, बुटवल, चितवनलगायत देशका विभिन्न जिल्लाबाट किसानहरू आधुनिक कृषि उपकरण तथा प्रविधिबारे जानकारी लिन पुगेका छन्। किसानले उपकरणको प्रत्यक्ष अवलोकन गर्नुका साथै विभिन्न कम्पनीका उत्पादन तुलना गर्ने र आफ्नो खेती प्रणालीअनुसार उपयुक्त प्रविधि छनोट गर्ने अवसर पाएका छन् ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष कृष्ण शर्माले स्वदेशमै कृषि उपकरण उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए। नेपाली उत्पादन तथा प्रविधिको प्रवर्द्धनसँगै विदेशी प्रविधिबारे किसानलाई जानकारी गराउन प्रदर्शनी महत्वपूर्ण माध्यम बनेको उनको भनाइ छ । नामियाका महासचिव अर्जुनप्रसाद लुइँटेलले कृषि क्षेत्रमा बढ्दो श्रमिक अभावको समस्या समाधान गर्न यान्त्रीकरण आवश्यक रहेको बताए । आधुनिक उपकरणको प्रयोगले खेतीपाती सहज बनाउनुका साथै उत्पादन लागत घटाउन र उत्पादकत्व बढाउन सहयोग पुग्ने उनले उल्लेख गरे ।

नामियाका सचिव श्रीकृष्ण अधिकारीले नेपालको भौगोलिक अवस्था र किसानको आवश्यकताअनुसारका कृषि उपकरण प्रदर्शनीमा राखिएकाले किसानलाई प्रत्यक्ष लाभ पुग्ने बताए । मेला संयोजक सुनिता न्हेमाफीले पनि प्रदर्शनीमा किसान तथा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको जानकारी दिइन् । मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित भारत, चीन तथा युरोपेली मुलुकका कृषि उपकरण उत्पादक, वितरक, व्यवसायी र विभिन्न कम्पनीको सहभागिता छ । प्रदर्शनीमा साना तथा ठूला गरी १४४ वटा स्टल राखिएका छन् भने ९२ जना प्रदर्शक सहभागी छन् ।

प्रदर्शनीमा आधुनिक कृषि मेसिनरी, हरितगृह, थोपा सिँचाइ, मल्चिङ, फगर, कृषि ड्रोन, कृत्रिम बौद्धिकता (एआई), बीउबिजन, कृषि प्रशोधन, अटोमेसन, पशुपन्छी तथा मत्स्यपालन, मौरीपालन, कफी खेती, मल तथा दानासम्बन्धी प्रविधि र उपकरण राखिएका छन् । ट्र्याक्टर, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, शीतभण्डारण र सिँचाइ प्रविधि पनि आकर्षणका रूपमा रहेका छन्। यस वर्ष स्वदेशी उत्पादन र प्रविधिको प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको छ। ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अन्तर्गतका कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत छुट दिइएको छ भने राष्ट्रिय आविष्कार केन्द्रसहित १७ वटा स्वदेशी उत्पादक कम्पनीलाई निःशुल्क स्टल उपलब्ध गराइएको आयोजकले जनाएको छ। त्यस्तै, नामियाका सदस्य कम्पनीले स्टल भाडामा ५० प्रतिशत छुट पाएका छन् ।

प्रदर्शनीका तीनै दिन नेपाल कृषि इन्जिनियर्स सोसाइटीसँगको सहकार्यमा ज्ञान आदानप्रदान, व्यावसायिक सहजीकरण, प्रविधि विकास र नीतिगत संवादसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन् । पहिलो दिन देश तथा विदेशका छ जना विषयविज्ञले कृषि यान्त्रीकरणसम्बन्धी प्रस्तुति दिएका थिए।दोस्रो दिन कृषि मेसिनरी तथा प्रविधिको खरिद र प्रयोगसम्बन्धी परामर्श, खाद्यवस्तु प्रशोधन तथा निर्यातसम्बन्धी ज्ञान आदानप्रदान र नेपालको भूगोलअनुकूल कृषि यान्त्रीकरण नीतिबारे छलफल गर्ने कार्यक्रम राखिएको छ। तेस्रो दिन कृषि यान्त्रीकरण, युवा केन्द्रित कृषि प्रविधि, रूपान्तरण तथा नवप्रवर्तनका विषयमा प्रस्तुति र छलफल हुनेछ।

अवलोकनकर्तालाई आकर्षित गर्न तीनै दिन लक्की ड्रमार्फत पुरस्कार वितरणको व्यवस्था गरिएको छ । प्रत्येक दिन ५० जनालाई पुरस्कार प्रदान गरिनेछ भने अन्तिम दिन बम्पर पुरस्कारस्वरूप एक जनालाई मिनी टिलर उपलब्ध गराइने आयोजकले जनाएको छ । कृषि विभाग, राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघको मुख्य आयोजनामा भइरहेको प्रदर्शनीमा बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपाल सहआयोजक रहेका छन् ।प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्