काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ। यो साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी पनि सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला केही कारोबार दिनदेखि सुनको मूल्यमा तीव्र गिरावट देखिएको छ। शुक्रबार मात्रै सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको थियो । त्यसअघि बिहीबार प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँ, बुधबार २ लाख ६० हजार ९०० रुपैयाँ र मंगलबार २ लाख ६७ हजार २०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
मंगलबारको तुलनामा आइतबारसम्म सुनको मूल्य प्रतितोला २४ हजार ८०० रुपैयाँले घटिसकेको छ । तिहारपछि निरन्तर ओरालो लागेको सुनको मूल्य पछिल्ला दिनमा थप तीव्र रूपमा घटेको देखिन्छ । तिहारअघि अर्थात् कात्तिक २३ गते सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यसयता आइतबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ४१ हजार ९०० रुपैयाँले घटेको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ थियो । यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँ, बुधबार ३ हजार ३८० रुपैयाँ र मंगलबार ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आइतबारसम्म चाँदीको मूल्य प्रतितोला ४२५ रुपैयाँले घटेको छ । पछिल्ला दिनमा सुनचाँदी दुवैको मूल्यमा आएको तीव्र गिरावटले नेपाली बजारमा बहुमूल्य धातुको खरिदबिक्री समेत बढेको छ।















प्रतिक्रिया दिनुहोस्