काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिलाई भेट्न लामिछाने शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन् । भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बीच राष्ट्रपति पौडेल र लामिछानेबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले भारत भ्रमणअघि र भ्रमणपछि समेत राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिएनन्। तर, प्रधानमन्त्री शाहले बिहीबार मात्रै रास्वपा सभापति लामिछानेसँग लामो छलफल गरे। यसैबीच, चीन भ्रमणबाट फर्किएको रास्वपाको सांसद टोलीले पनि पार्टी सभापति लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरिसकेको छ। नोभेम्बर १५ देखि चीनका विभिन्न प्रान्त तथा सहरको भ्रमणमा गएको टोलीसँगको ब्रिफिङ र प्रधानमन्त्रीसँगको लामो छलफललगत्तै लामिछानेले राष्ट्रपतिसँग आज भेट गरेका हुन् ।
लामिछानेको निजी सचिवालयले दुई बीचको भेटका क्रममा सरकार, संसद, अध्यादेश र समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्