काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाटसम्म विद्युत् खरिद गर्न प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको छ।
यसपटक प्राधिकरणले विगतमा भारतीय पक्षले कम मूल्यमा विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि पछि बजारमा मूल्य बढेको भन्दै सम्झौता गर्न अस्वीकार गरेपछि प्रतिस्पर्धात्मक प्रक्रियाबाटै खरिद गर्न लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार यसअघि भारतीय पक्षले कम दरमा विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि पछि भारतमा विद्युत्को मूल्य बढेको कारण देखाउँदै समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्न मानेको थिएन ।
त्यसैले यसपटक व्यक्तिगत वा अनौपचारिक प्रस्तावका आधारमा नभई औपचारिक बोलपत्र प्रक्रियामार्फत विद्युत् खरिद गर्न लागिएको उनले बताए । उनका अनुसार बोलपत्र पेस गरिसकेपछि आपूर्तिकर्ता कानुनी प्रक्रियामा बाँधिने भएकाले पछि विद्युत् आपूर्ति गर्न नसक्ने भन्दै पछि हट्न पाउने अवस्था रहँदैन । प्राधिकरणले बोलपत्र दस्तावेजमा विद्युत्को अधिकतम खरिद मूल्य प्रतियुनिट ७.३४ भारतीय रुपैयाँ निर्धारण गरेको छ। विगतको औसत विद्युत् खरिद–बिक्री लागतलाई समेत आधार मानेर उक्त मूल्य तय गरिएको हो। भारतीय बजारमा विद्युत्को मूल्यमा उतारचढाव भइरहे पनि प्रतिस्पर्धाबाट उपयुक्त दर निर्धारण हुने प्राधिकरणले जनाएको छ।
बोलपत्र दस्तावेजअनुसार प्राधिकरणले सन् २०२७ मार्च १ देखि मे ३१ सम्म तीन महिनाका लागि चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) मोडमा १५० मेगावाटसम्म विद्युत् खरिद गर्नेछ ।
यद्यपि, कार्यकारी निर्देशक श्रेष्ठले सुक्खायामको विद्युत् माग व्यवस्थापनलाई लक्षित गर्दै जनवरीदेखि मेसम्मको अवधिका लागि चौबिसै घण्टा विद्युत् आयात गर्ने योजना रहेको स्पष्ट पारेका छन् । यस प्रक्रियामा भारतका सरकारी तथा निजी क्षेत्रका योग्य विद्युत् व्यापार अनुमतिपत्र प्राप्त कम्पनीले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
खरिद गरिने विद्युत्को डेलिभरी प्वाइन्ट ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनअन्तर्गत भारतको मुजफ्फरपुर सबस्टेसनको ४०० केभी बसबार तोकिएको छ । बोलपत्र पेस गर्ने अन्तिम मिति २८ डिसेम्बर २०२६ को मध्याह्न १२ बजेसम्म निर्धारण गरिएको छ । प्राप्त प्राविधिक बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने प्राधिकरणले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्