काठमाडौं । वैदेशिक रोजगारमा कामदार पठाउन इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश पठाउन नपाउने भएका छन्। यस्तो कार्य वैदेशिक रोजगार ऐन, २०६४ विपरीत हुने भन्दै वैदेशिक रोजगार विभागले संलग्न संस्थामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले आज व्यक्तिगत श्रम स्वीकृतिसम्बन्धी सूचना जारी गर्दै इजाजतप्राप्त संस्थाहरूलाई कानुनविपरीतको गतिविधि नगर्न सचेत गराएको हो।विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा (३)मा वैदेशिक रोजगारमा कामदार पठाउन इजाजतपत्र लिएका संस्थाले व्यक्तिगत श्रम स्वीकृति गराई कामदार विदेश पठाउन नपाउने व्यवस्था छ। तर, उक्त कानुनी प्रावधानविपरीत म्यानपावर कम्पनीहरूले व्यक्तिगत श्रम स्वीकृतिको माध्यमबाट कामदार विदेश पठाएको पाइएमा हदैसम्मको कारबाही गरिने विभागले स्पष्ट पारेको छ।
विशेषगरी युरोपलगायत विभिन्न देशमा वैदेशिक रोजगारीका लागि जाने कामदारलाई विभागले थप सतर्कता अपनाउन आग्रह गरेको छ। इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत विदेश जाँदा सम्बन्धित कम्पनीले गन्तव्य मुलुकमा कामदार पठाउन विभागबाट पूर्वस्वीकृति लिएको छ वा छैन भन्ने यकिन गर्न विभागले अनुरोध गरेको छ। पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृतिको नाममा विभिन्न व्यक्ति तथा संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै आर्थिक कारोबार गर्न खोज्न सक्ने भएकाले त्यस्ता गतिविधिप्रति सचेत रहन पनि विभागले आग्रह गरेको छ। कुनै म्यानपावर कम्पनी, संस्था, कन्सल्टेन्सी वा व्यक्तिले व्यक्तिगत श्रम स्वीकृति गराइदिने अथवा त्यसैका आधारमा विदेश पठाइदिने भन्दै रकम मागेमा तत्काल विभागलाई जानकारी गराउन सूचनामार्फत अनुरोध गरिएको छ।
यस्ता गतिविधिबारे सूचना दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने विभागले जनाएको छ। गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने प्रयास रोक्न र कामदारलाई सम्भावित ठगीबाट जोगाउन विभागले सूचनादाताको विवरण गोप्य राख्ने प्रतिबद्धता जनाएको हो।
विभागले यससम्बन्धी जानकारी वा उजुरी दिनका लागि फोन नम्बर ०१–५९०७६५९, मोबाइल नम्बर ९७४३२३३४८४ र इमेल [email protected]उपलब्ध गराएको छ।















प्रतिक्रिया दिनुहोस्