Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

गिद्ध संरक्षण गर्न तनहुँ जलविद्युत आयोजनाले बनायो आरामस्थल

गिद्ध संरक्षण गर्न तनहुँ जलविद्युत आयोजनाले बनायो आरामस्थल
विज्ञापन
Advertisement

निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको छ ।

आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक पोल जडान गरेको छ । हरेक पोलमा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ । फलामको आर्ममा कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिई सुरक्षित बनाउन आर्मलाई काठले ढाकिएको छ । पोलको टुप्पोमा काठको ढकनी लगाइएको छ । जसमा गिद्ध सुरक्षित रुपमा बस्न सक्नेछन् । आहाराका लागि आउने र खाएपछि गिद्धलाई आराम गर्नका उक्त पोलहरु जडान गरिएका हुन् ।

व्यास नगरपालिकाको सक्रियतामा दमौली बजारभन्दा करिब ६ किलोमिटर दूरीमा रहेको मादी नदी किनारमा गौ संरक्षण केन्द्र सञ्चालित छ । करिब दुई सय रोपनी जग्गामा सञ्चालित केन्द्रमा व्यास नगरपालिका क्षेत्रमा बेवारिसे अवस्थामा रहेका र बूढा भएका गाईगोरु ल्याउने गरिएको छ । गाईगोरु मरेमा त्यहीँ रहेको खाल्डोमा राखिने भएकाले आहाराका लागि गिद्ध त्यहाँ आउने गरेका छन् । शिकारी चरा समूहअन्तर्गत ठूला मांसहारी पंक्षी गिद्धले आफैं शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खान्छन् ।

गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रुपमा आहारा लिनु पर्ने वाध्यता थियो । उक्त स्थानबाट ३३ केभी प्रसारण लाइन गएका कारण आहाराका लागि आउने र आहारापछि उड्ने गिद्ध उक्त लाइनमा ठोकिएर मर्ने गरेका थिए । प्रसारण लाइनमा ठोकिएर गिद्धलाई मर्न नदिन आयोजनाले मरेका गाईवस्तु फाल्ने खाल्डोको स्थान परिवर्तन गरी त्यस नजिक पोल जडान गरी आरामस्थल निर्माण गरेको हो । यसबाट गिद्ध संरक्षण गर्न जनचेतना अभिबृद्धि र बासस्थान संरक्षण भई गिद्ध सुरक्षित क्षेत्रको रुपमा विकास गर्न सहयोग पुग्नेछ ।

साथै, आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्य रुपमा त्यहाँ पाइने रैथाने असला तथा शहर प्रजातिका माछाको जीवन जोखिमा पर्ने र त्यसको संरक्षणका लागि सेती र मादी नदीको सङगमस्थलबाट करिब ४५ किलोमिटर मादीको माथिल्लो तटीय क्षेत्रमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइएको छ ।

व्यास नगरपालिका ३, ४, ५,६, ७ तथा १० नम्बर वडा, मध्य नेपालका ४, ५, ६, ७ तथा ८ नम्बर वडा, रुपा गाउँपालिका १, ३ तथा ७ नम्बर वडा र मादी गाउँपालिका ४, ५, ९, १०, ११ तथा १२ नम्बर वडालाई प्रभावित क्षेत्र मानिएको छ ।

तीन वटा प्याकेजमा विभाजन गरी निर्माण भइरहेको आयोजनाको समग्र भौतिक प्रगति ६४ प्रतिशत रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit