
काठमाडाैँ । नेपाल प्रविधिको गतिशील युगमा प्रवेश गरिरहेको छ । डिजिटल नेपाल निर्माणको परिकल्पना अघि सारिए पनि प्रविधिको व्यावहारिक प्रयोग, साइबर सुरक्षाको चुनौती, र नवप्रवर्तनको अभावका कारण अपेक्षित गति लिन कठिनाइ भोगिरहेको छ। यही सन्दर्भमा, कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले प्रविधि प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ। हालै काठमाडौंमा सुरु भएको ३० औं संस्करणको ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ प्रविधिप्रेमी, उद्यमी, विद्यार्थी, तथा प्रविधि व्यवसायीहरूका लागि एक प्रमुख प्लेटफर्म बनेको छ । यस अवसरमा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेसँग प्रविधि विकास, सरकारको भूमिका, र भविष्यका योजनाहरूबारे दिपा रेग्मीले गरेको कुराकानी सम्पादित अंश:
विगतको वर्षभन्दा अघिल्लो वर्ष, अघिल्लो वर्षभन्दा यसवर्षमै प्रविधिले फड्को मारिरहेको छ । यसवर्षको क्यान इन्फोटेक मेलामा के फरक पाउन सकिन्छ ?
यस पटकको क्यान इन्फोटेकमा हामीले साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स डिजिटल भुक्तानी प्रणाली, क्लाउड कम्प्युटिङ, र स्टार्टअप प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएका छौं। अघिल्ला संस्करणहरूमा हार्डवेयर र सफ्टवेयर प्रदर्शनीलाई मात्रै जोड दिइएको थियो भने यस पटक हामीले डिजिटल नवप्रवर्तनलाई अघि बढाउने प्रयत्न गरेका छौं। स्टार्टअपका लागि लगानीकर्तासँग प्रत्यक्ष भेटघाट गर्ने अवसर उपलब्ध गराएका छौं।
नेपालको प्रविधि क्षेत्रमा क्यान महासंघको अहिलेसम्मको भूमिका कस्तो रहेको छ?
क्यान महासंघ सरकार, निजी क्षेत्र, र प्रविधि व्यवसायीहरूबीच पुलको रूपमा काम गरिरहेको छ। हामीले आईटी नीति निर्माणमा सरकारलाई सुझाव दिने, प्रविधि उद्यमशीलता प्रवद्र्धन गर्ने, डिजिटल साक्षरताका लागि कार्यक्रमहरू सञ्चालन गर्ने, र साइबर सुरक्षामा जनचेतना फैलाउने जस्ता कार्य गरिरहेका छौं।
नेपाल प्रविधिमा आत्मनिर्भर हुन के–के आवश्यक छ?
सबैभन्दा पहिले, प्रविधि शिक्षा र सीपलाई बल दिनुपर्छ। सरकारी नीति अनुकूल हुनुपर्छ, आईटी स्टार्टअपहरूलाई सहुलियत दिनुपर्छ, र प्रविधि क्षेत्रलाई लगानीमैत्री बनाउनुपर्छ। अहिले प्रविधिमा निर्भरता बढ्दै गएको छ, तर हामी अझै पनि धेरै प्रविधि आयातमै भर पर्नुपरेको छ। आत्मनिर्भर बन्न हामीले आफ्नै प्रविधि विकास गर्नुपर्ने हुन्छ।
सरकारले प्रविधि क्षेत्रमा सहयोग गर्न के–के गर्न आवश्यक छ?
सरकारले प्रविधि नीति सुधार गर्नुपर्छ। आईटी उद्यमीहरूलाई अनुकूल वातावरण बनाउनुपर्छ, साइबर सुरक्षामा लगानी बढाउनु आवश्यक छ, र डिजिटल शासन प्रणालीलाई प्रभावकारी बनाउनु जरुरी छ। डिजिटल नेपाल निर्माणका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै दीर्घकालीन योजना बनाउनु आवश्यक छ।
क्यान महासंघ र सरकारबीच प्रविधि प्रवद्र्धनका लागि हाल के–कस्ता सहकार्य भइरहेका छन्?
हामीले सरकारसँग विभिन्न तहमा छलफल गरिरहेका छौं। आईटी नीतिहरू परिमार्जन गर्न, डिजिटल साक्षरताका कार्यक्रम सञ्चालन गर्न, र साइबर सुरक्षाका लागि सचेतना अभिवृद्धि गर्न सरकारसँग सहकार्य गरेका छौं।
नेपालका स्टार्टअपहरूलाई क्यान महासंघले कसरी सहयोग गरिरहेको छ ?
स्टार्टअपहरूलाई प्रविधि प्रदर्शनीमार्फत लगानीकर्तासँग जोड्ने, आवश्यक प्रशिक्षण तथा सल्लाह दिने, र उनीहरूको उत्पादन तथा सेवा प्रवद्र्धन गर्न कार्यक्रमहरू आयोजना गरिरहेका छौं। यसपटक क्यान इन्फोटेकमा विशेष गरी स्टार्टअप पिचिङ सेसन राखिएको छ, जसले नवप्रवर्तनशील आईटी कम्पनीहरूलाई अगाडि बढ्न सहयोग गर्नेछ ।
नेपालको डिजिटल परिवर्तनमा मुख्य चुनौती के–के छन् ?
मुख्य चुनौतीहरूमा डिजिटल साक्षरताको कमी, प्रविधि शिक्षा र सीप अभाव, सरकारी प्रक्रियामा प्रविधिको सीमित प्रयोग, र साइबर सुरक्षासम्बन्धी अपर्याप्त संरचना प्रमुख छन्। यी समस्याहरू समाधान गर्न सरकारी नीति, निजी क्षेत्रको लगानी, र जनस्तरमा प्रविधि शिक्षाको प्रवद्र्धन आवश्यक छ।
आईटी क्षेत्रका युवाहरूका लागि क्यान महासंघको के सन्देश छ?
युवाहरूले प्रविधिमा अवसर खोज्नुपर्छ, केवल उपभोग गर्ने होइन, नवप्रवर्तनमा लाग्नुपर्छ। नेपालमा प्रविधिको ठूलो सम्भावना छ, यदि सही मार्गनिर्देशन पाइयो भने नेपाली युवाहरूले अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्छन्।
भविष्यमा क्यान महासंघले के–कस्ता नयाँ पहल गर्ने योजना बनाएको छ?
हामी डिजिटल उद्यमशीलतालाई अझ प्रवद्र्धन गर्ने, साइबर सुरक्षामा थप ध्यान दिने, र प्रविधि शिक्षालाई बल दिने योजनामा छौं। प्रविधिको विकासमा निजी क्षेत्रको लगानी वृद्धि गर्न सहजीकरण गर्नेछौं। साथै, डिजिटल नेपाल निर्माणका लागि सरकारले ल्याउने नीतिहरूमा सक्दो योगदान पुर्याउनेछौं।
अन्त्यमा अहिलेकाे मेलालाइ जाेडेर के भन्नु छ ?
नेपाल प्रविधिमा तीव्र रूपमा अघि बढ्दै छ, तर डिजिटल परिवर्तनलाई थप प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र, र आम नागरिकको सहकार्य अपरिहार्य छ। सरकारसँगको सहकार्य अझ प्रभावकारी बनाउन सकियो भने नेपाल प्रविधिमा आत्मनिर्भर बन्ने लक्ष्य चाँडै प्राप्त गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्