बैंकक । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताएका छन् । थाइल्यान्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआईटी)मा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षाको व्याख्या गर्दै मानवीय चाहना र सुखीभन्दा अर्को ठूलो कुरा विश्वमा नहुने विचार व्यक्त गर्दै जलवायु परिवर्तनलगायत मुद्दामा साझा प्रयासका लागि आह्वान गरे ।
नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१औँ शताब्दीको मानवनीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआईटीबाट उत्पादित जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले एआईटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरेको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा पनि गरे ।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले उक्त संस्थमा विश्वका विद्यार्थीमध्ये बढी विद्यार्थी हुने मुलुकमध्ये नेपाल चौथो स्थानमा पर्ने भएकाले नेपाल र एआईटीको सहकार्य आफूहरूको प्राथमिकतामा रहेको बताए ।
एआईटीमा हाल एक सय ८१ नेपाली विद्यार्थी अध्ययनरत छन् भने हालसम्म एक हजार सात सय ९५ नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् । यस संस्थाको बोर्ड अफ ट्रष्टीमा तीनजना नेपाली सदस्य रहेका छन् भने सातजना फ्याकल्टी मेम्बर नेपाली रहेका छन् ।

प्रधानमन्त्री ओलीको टोलीलाई सो संस्थाका प्रेसिडेन्ट प्रा.पाइ ची लीसहितले स्वागत गरेका थिए । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले पहिलो थाइल्यान्ड भ्रमण गरेका हुन् । प्रधानमन्त्री ओलीले आजै बिमस्टेक सम्मेलनमा सहभागी सदस्य मुलुकका राष्ट्र प्रमुख तथा सरकारप्रमुखसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिकरविकास सल्लाहकार डा। युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत छन् ।

















प्रतिक्रिया दिनुहोस्