काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवादको विषय प्रभावकारी रूपमा नउठाइएको भन्दै सरकारको आलोचना गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले दिल्ली भ्रमणअघि परराष्ट्रमन्त्रीले सीमा विवादबारे पछि बोल्ने बताएका भए पनि औपचारिक वार्तामा उक्त विषय नउठाएको आरोप लगाइन्। उनले भ्रमणपछि जारी भएका प्रेस विज्ञप्ति तथा प्रेस नोटमा समेत सीमा विवादबारे उल्लेख नभएको दाबी गरिन्।
‘काठमाडौंबाट दिल्ली जाँदा परराष्ट्रमन्त्रीज्यूले पत्रकारहरूसँग सीमा विवादबारे पछि बोल्ने बताउनुभएको थियो। तर दिल्लीमा भएको औपचारिक वार्तामा यो विषय कतै उठाइएको देखिएन,’ उनले भनिन्।
ओलीले नेपाली पक्षबाट जारी गरिएका आधिकारिक विज्ञप्तिहरूमा सीमा विवादसम्बन्धी विषय समावेश नभएको उल्लेख गर्दै भ्रमणपछि पनि सरकारले यस विषयमा स्पष्ट धारणा सार्वजनिक नगरेको बताइन्।
उनका अनुसार दिल्ली भ्रमण सम्पन्न भएपछि जारी गरिएको प्रेस नोटमा समेत सीमा विवादबारे कुनै उल्लेख थिएन। पत्रकारहरूको प्रश्नपछि मात्रै मन्त्रीले सीमासम्बन्धी विषयमा प्रतिक्रिया दिएको उनको भनाइ थियो।
‘नेपाली पक्षले जारी गरेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादबारे एक शब्द पनि उल्लेख भएन। भ्रमणपछि पत्रकारहरूले प्रश्न गरेपछि मात्रै केही प्रतिक्रिया दिनुभयो,’ ओलीले भनिन्।
सांसद ओलीले संसद्मा समेत परराष्ट्रमन्त्रीले सीमा विवादलाई प्राथमिकतामा नराखी नियमित सीमा व्यवस्थापनका विषय मात्र उठाएको टिप्पणी गरिन्। उनका अनुसार जंगे पिल्लरको व्यवस्थापन र नियमित बैठकजस्ता प्राविधिक विषय उठाइए पनि सीमा विवादको मूल मुद्दाबारे पर्याप्त चर्चा भएन।
उनले नेपाल–भारत सीमा विवादजस्तो संवेदनशील विषयमा सरकारले स्पष्ट र दृढ धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याइन्।

















प्रतिक्रिया दिनुहोस्