काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन्।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको खोजबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्य सम्पादन हुने बताए।
उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने बताउँदै कुनै बहकावमा लागेर कुनै पनि खालका हत्या, हिंसा, धार्मिक भड्काव र अराजकता स्वीकार्य नहुने बताए । उनले भने, ‘अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छौँ। यहाँ जनताका बीचमा गएर प्रतिस्पर्धा गर्न पाइन्छ। चुनाव जितेर एमालेले एकल सरकार बनाएर विकास र समृद्धिका लागि अभूतपूर्व कामको थालनी गरेका बेला त्यसबाट त्रसित भएर प्रतिक्रियावादीको उक्साहटमा हामीलाई विस्थापित गरियो। अहिले संयुक्त सरकारका रुपमा हामी सरकारमा छौँ।’
यस्तै प्रधानमन्त्री ओलीले सग्लो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उल्लेख गर्दै सीमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन नदिने बताए । प्रधानमनत्रीले भने, ‘हामीसँग राष्ट्र निर्माण र एकताका इतिहास छन्। हामी यो सग्लो नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गछौँ। हामी सीमाना खुम्चन र राष्ट्रिय स्वाभिमानमा आँच आउन दिनेछैनौँ। हाम्रो सभ्य र सुसंस्कृत समाजलाई कायम राखेर अघि बढ्छौँ।’

















प्रतिक्रिया दिनुहोस्