images images images
images images images
images
images
images

अर्थतन्त्रका आन्तरिक चुनौती कायमै छन्ः कामु गभर्नर ढुङ्गाना

images

काठमाडौं । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक रुपमा अझै सङ्कटग्रस्त रहेको बताए ।

राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै कामु गभर्नर ढुङ्गानाले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको समेत उल्लेख गरे । बाह्य सूचकहरु सबल बन्दै गएपनि आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भइसकेको उनको भनाइ छ । ‘उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू अर्थतन्त्रमा कायमै छन्’ उनले भने ।

images
images

यद्यपि केही सूचकहरु क्रमशः सुधार हुँदै गएको पनि उनले उल्लेख गरे । मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको ढुङ्गानाको भनाइ छ ।
‘पछिल्लो समय भएको कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा छ’ उनले भने ।

नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको पनि ढुङ्गानाले उल्लेख गर्नुभयो । दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कात्तिकदेखि बढ्न थालेको छ, विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको, वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको बिस्तारमा उल्लेख्य प्रगति भएको जस्ता सुधार अर्थतन्त्रमा देखिएको कामु गभर्नर ढुङ्गानाले बताए ।

पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखा परेका छन् । एकातिर जारी रुस–युक्रेन युद्ध अन्त्य हुने ठोस आधार हालसम्म नदेखिँदा आपूर्ति व्यवधान हट्ने सम्भावना अनिश्चित हुँदै गएको छ भने मध्यपूर्वमा जारी द्वन्द्वको अन्त्य अनिश्चित रहेको उनले उल्लेख गरे ।

यस्ता बाह्य कारणले गर्दा मुद्रास्फीति, वैदेशिक सहायता एवम् बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिएको ढुङ्गानाले बताउनुभयो । पछिल्लो समय खासगरी अमेरिकाको अन्तरराष्ट्रिय व्यापार र आर्थिक सहयोग नीति तथा भूराजनीतिक तनावजस्ता बाह्य कारणले अर्थतन्त्रमा थप दबाब पर्न सक्ने जोखिम कायमै रहेको तर्फ पनि उहाँले सचेत गराए ।

वित्तीय र मौद्रिक सूचकहरु सुर्धानका लागि राष्ट्र बैंकले हदैसम्मको प्रयास गरिरहेको उनको दाबी छ । ‘अधिक तरलता र न्यून ब्याजदरका साथै बाह्य क्षेत्र परिसूचकहरू सबल रहेको सन्दर्भमा मौद्रिक क्षेत्रबाट अर्थतन्त्रलाई चलायमान बनाउन हदैसम्मको प्रयास गरिएको छ’, उनले भने, ‘सार्वजनिक वित्त, वैदेशिक व्यापार र आर्थिक वृद्धिको पछिल्लो तथ्याङ्कले आर्थिक गतिविधिमा सुधार हुँदै गएको आकलन गर्न सकिन्छ ।’

विगतमा आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली प्रभावित हुन गई निष्क्रिय कर्जा अनुपात बढेकोमा आर्थिक गतिविधिमा सुधार भएसँगै निष्क्रिय कर्जा अनुपातमा समेत सुधार हुने अपेक्षा गरिएको कामु गभर्नर ढुङ्गानाले बताए । राष्ट्र बैंकले गरेको नीतिगत सहजीकरण, पूर्वाधार विकास र सुरक्षित, सजिलो एवम् सस्तो भुक्तानी प्रणालीका उपकरणले गर्दा डिजिटल भुक्तानीको प्रयोग उच्च दरमा बढेको उनको दाबी छ ।

त्यस अवसरमा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले मुलुकको वित्तीय नीति लोकरिझ्याँई र कुनै व्यक्ति तथा समूहको फाइदाका लागि केन्द्रित हुँदा समस्या देखिएको बताए । शिथिल अवस्थामा रहेको अर्थतन्त्र सुधारका लागि राज्यका सबै निकाय र पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा उनले जोड दिए । नेपालको सार्वजनिक ऋणको दायित्वको भुक्तानीका लागि ठूलो रकम खर्च हुन थालेको तर पुँजीगत खर्च बढ्न नसकेको, सहकारी क्षेत्र धरासायी हुँदा त्यसको असर उपभोक्ता बजारमा समेत देखिएको, स्वेदशमा रोजगारी बढ्न नसक्दा उत्पादन बढ्न नसकेकोजस्ता गम्भीर समस्या अर्थतन्त्रमा रहेको उनको भनाई छ । आफ्नो स्थापनाको ७०औँ वर्षका अवसरमा राष्ट्र बैंकले पूर्वगभर्नर क्षेत्रीलाई सम्मानसमेत गरेको छ ।

वार्षिकोत्सव कार्यक्रममा राष्ट्र बैंकका विभिन्न कर्मचारी सङ्घ सङ्गठनहरुले गभर्नर नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइबारे चासो व्यक्त गरेका थिए । वार्षिकोत्सवको अवसरमा २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई पनि सम्मान गरिएको छ ।

राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो । यसले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक नीति तथा विदेशी विनिमय नीति निर्माण गरी त्यसको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्