काठमाडाैं । स्वदेशी टायल्स उद्योगको प्रभाव बढेसँगै नेपालले टायल्सका लागि ‘नेपाल गुणस्तर ९एनएस०’ मापदण्ड तय गर्ने तयारी गरेको छ। गुणस्तर तथा नापतौल विभागले प्राविधिक समितिबाट तयार भएको प्रस्तावित मापदण्डलाई सुझावका लागि ६० दिन सार्वजनिक गरेको छ।
प्रस्तावित मापदण्डअनुसार टायल्सलाई पानी सोस्ने क्षमता र खदिँलोपनको आधारमा चार समूहमा वर्गीकरण गरिएको छ जसमा शत प्रतिशत भिट्रीफाइड, पोर्सिलेन, सेरामिक फ्लोर, र सेरामिक वाल टायल्स रहेका छन् । टायल्सको गुणस्तर प्रमाणिकरणका लागि परीक्षण ल्याब स्थापना गरिनेछ। एनएस चिन्ह भने ऐच्छिक हुनेछ—गुणस्तर अनुसार प्याकेटमा टायलको वर्ग उल्लेख गर्न सकिने छ ।
मापदण्ड अनुसार, पहिलो गुणस्तर (प्रिमियम क्वालिटी) का टायल्स भन्नाले त्यस्ता टायल्स बुझिन्छन् जसमा सतह वा आकारमा कुनै खालको दोष नहोस, जसले टायलको सौन्दर्यता वा कार्यक्षमता असर गर्छ। यस्ता टायल्सले तोकिएको भौतिक, रासायनिक र सतह गुणस्तर पूरा गर्नुपर्ने हुन्छ। उक्त मापदण्ड केवल प्रेसिङ विधिबाट बनेका टायल्समा मात्र लागू हुनेछ, एक्स्ट्रजन प्रक्रियाबाट बनेका टायल्स भने यसमा समावेश गरिएको छैन।
गुणस्तरीय निर्माण सामग्रीको सुनिश्चितताका लागि यो मापदण्डलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले निर्माण व्यवसायमा पारदर्शिता ल्याउनुका साथै उपभोक्तालाई उपयुक्त टायल छनोट गर्न सहयोग पुग्नेछ। लामिनार टायल्सका अध्यक्ष सुब्रत धितालले अहिलेको मापदण्ड कार्यान्यनमा आएको टायल्स उद्योगीको क्षेत्रमा पार्दर्शी हुने बताए । उनले भने,‘ विगतका दिनमा मापदण्ड नहुँदा उपभोक्ताले कुन टायल्स कस्तो छ भनेर थाहा पाउने अबस्था थिएन, अब उपभोक्ताले थाहा पाएर गुणस्तरको आधारमा टायल्स किन्न सक्छन्, हेर्दा सामान्य लाग्ने तर, दिर्घकालीन प्रभाव राख्छ,यसले उपभोक्तलाई पनि फाइदा हुन्छ,उद्योगीलाई पनि सहज हुन्छ ।’
उनका अनुसार टायल्समा धेरै प्राविधिक कुरा भएपनि मुख्य गरी मुख्य पानी कति सोस्छ र कत्तिको खदिँलो छ भन्ने आधारमा गुणस्तर निर्धारण हुने उल्लेख छ । जति कम पानी सोस्छ, त्यति नै टायल्सको क्वालिटी राम्रो मानिन्छ । त्यहि गुणस्तरलाइ कसरी छुट्याउने भनेर कानूनी बाटाे बिभागले लिएकाे उनकाे भनाइ छ ।

















प्रतिक्रिया दिनुहोस्