Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शेर्पा युवाको घट्दो आकर्षण : सगरमाथाको छायाँमा हराउँदै गएको एक पेसा

शेर्पा युवाको घट्दो आकर्षण : सगरमाथाको छायाँमा हराउँदै गएको एक पेसा
विज्ञापन
Advertisement

सोलुखुम्बु । हिमालको छायाँमा बितेको चार दशकभन्दा बढीको समय। आठपटक सगरमाथा आरोहण गरिसकेका ६१ वर्षीय दावा शेर्पाको जीवन त्यहीँ बित्यो—हिउँका पहाड, चिसो रात, भारी बोक्ने बाटो, र पर्वतारोहणको जोखिमबीच। हिमालको मोह अझै घटेको छैन, तर अहिले उनी जस्ता पुराना अनुहारहरू सगरमाथाको पथप्रदर्शकमा मात्रै देखिन्छन्। नयाँ पुस्ता भने परिदृश्यबाट हराउँदैछ।

विज्ञापन
Advertisement
Advertisement

दावा सम्झनुहुन्छ, ‘खुम्बु पासाङल्हामु गाउँपालिका–५ को नाम्चे बजार अहिलेको जस्तो थिएन। त्यतिबेला सयौँ टेन्ट टाँगिन्थे, शेर्पा युवाहरू भारी बोक्थे, कसैले ट्रेकिङ गाइडको काम गर्थे।’

उनकाअनुसार, त्यतिबेला बाटोमा होटलहरू कम थिए, कतिपय रात ओडारमै बित्थ्यो। आगो बालेर खाना पकाउनु र चिसो सहनु दिनचर्या थियो। आज ती दृश्यहरू हराउँदै गएका छन्। ‘अहिले बाटोमा सुविधायुक्त होटल छन्, तर शेर्पा युवाहरू भने पेसाबाट हराउँदै गएका छन्,’ उनी भन्छन् ।

नयाँ पुस्ता किन टाढा हुँदैछन् ?
नेपाल पर्वतारोहण संघका सञ्चार अधिकृत दीपेन्द्र गुरूङका अनुसार अहिले सोलुखुम्बुभन्दा सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गाजस्ता जिल्लाबाट पर्वतारोहण गाइड बन्नेहरूको संख्या बढ्दै गएको छ। तर सोलुखुम्बुका दोस्रो पुस्ताका शेर्पा युवाहरू भने यो पेसातर्फ आकर्षित देखिँदैनन्।

“हिमाल चढ्नु जोखिमयुक्त छ, त्यसैले पढेलेखेका युवाहरू अन्य पेसा रोज्न थालेका छन्,” गुरूङ बताउनुहुन्छ, “शेर्पाहरू घटे पनि अन्य समुदायका युवाहरू पर्वतारोहण क्षेत्रमा आइरहेका छन्।”

हिमालयन उद्धार संघका कार्यकारी प्रमुख गोविन्द बस्यालले यो पेसामा भविष्य अनिश्चित देखिन्छ भन्छन्। ‘शेर्पा युवाहरूको ध्यान शिक्षा र प्रवासमा छ,’ उनी भन्छन् । ‘बाबुबाजेले गरेको पेसामा छोराछोरी फर्कन्छन् कि भन्ने निश्चित छैन।’

परम्परा र पेसाबीचको द्वन्द्व

नाम्चेमा शेर्पा संग्रहालय सञ्चालन गरिरहनुभएका ६४ वर्षीय लाक्पा सोनाम शेर्पाले अहिलेको चिन्ता हिमाल चढ्ने युवाको कमीभन्दा गहिरो भएको बताउनुहुन्छ। “हिउँ पग्लँदै छ, जलवायु परिवर्तन तीव्र छ। सगरमाथा नै रहन्छ कि रहँदैन भन्ने चिन्ता हो,” उनी  भन्छन्, “सगरमाथा ढुङ्गामा परिणत भयो भने त्यसलाई चढ्न को आउँछ ?”

त्यस्तै, आठ पटक सगरमाथा आरोहण गरिसकेका ५१ वर्षीय निमा शेर्पा भन्छन्, “हाम्रो पुस्ताले अझै गाइडको काम सम्हालेका छौं, तर पछिल्लो पुस्ता यो जोखिम मोल्न चाहँदैन।”

दूधकोसी गाउँपालिका–९ का तार्के शेर्पा पनि यस्तै धारणा राख्नुहुन्छ। “पढेलेखेका युवाहरू विदेशिए, केही व्यवसायमा लागे। सरकारी सेवा(सुविधा नपाउने र स्थिर आम्दानी नहुने हुँदा शेर्पाहरू यो पेसाबाट टाढा हुँदै छन्।”

सगरमाथाको भविष्य कता?
एक समय थियो, जब खुम्बु क्षेत्रका हरेक युवाले सगरमाथा आरोहण गर्नुपर्थ्यो। ओङछु शेर्पा सम्झनुहुन्छ, ‘हाम्रो पालामा प्रत्येक परिवारका छोराले सगरमाथा चढ्नैपर्थ्यो। अहिले गाउँमा युवाहरू भेटिँदैनन्, सबै विदेशिएका छन्।’

सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथा पहिलोपटक चढेपछि यो क्षेत्र विश्वकै पर्वतारोहण केन्द्र बन्यो। त्यसपछि खुम्बुका गाउँलेहरूले यो पेसाबाट जीविकोपार्जन गर्न थाले।

आज, सगरमाथा आधार शिविरसम्म पुग्न सडक, हवाइ र होटलको सुविधा पुगेको छ। तर, हिमालमा पाइला राख्ने मनको कुरा हो—र त्यो मन अहिलेका शेर्पा युवामा घट्दै गएको देखिन्छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit