काठमाडौं । पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिन लागेको छ । हबिबले आफ्नो स्वामित्वको हिमालयन बैंकमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर एकमुस्ट बेच्न लागेको हो ।
हबिबले संस्थापक सेयरको मूल्य प्रतिकित्ता ११२.८० रुपैयाँ तोकेको छ । प्रस्तावित मूल्यलाई आधार मान्दा एकमुस्ट सेयरको रकम तीन अर्ब १३ करोड रुपैयाँ बढी हुन आउँछ ।
हबिबले पहिलो प्राथमिकता हिमालयनका संस्थापक सेयरधनीलाई दिएर ३५ दिनभित्र प्रस्ताव पेस गर्न भनेको छ । हिमालयनमा हबिबको १२.९३ प्रतिशत संस्थापक सेयर रहेको छ । हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर ०७६ सालमा बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सीडीसी) लाई बेच्ने कोसिस गर्दा बैंकका सञ्चालकबाट विरोध भएपछि त्यति बेला सफल भएको थिएन ।
हिमालयनमा सिभिल बैंकलाई मर्जर गरेपछि वित्तीय अवस्था कमजोर देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुल ५० करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको यही समयमा एक अर्ब ९४ करोड ८१ लाख रुपैयाँ खुद नाफा थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंकको वितरणयोग्य नाफा सात करोड ८० लाख रुपैयाँ छ ।
हाल हिमालयन बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ । सिभिलसँग मर्जरअघि हिमालयनमा हबिबको २० प्रतिशत स्वामित्व थियो ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्