काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको भन्दै राजीनामा दिएर राजनीतिक प्रतिशोध पूरा गर्न नदिने बताएका छन् । उनले यो प्रकरण आफू संलग्न हुँदै नभएको दाबी गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद मनिष झाले बोलेपछि सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिए। गृहमन्त्री लेखक रोस्टमबाट बोल्न सुरु गरेपछि विरोधमा रहेका रास्वपाका सांसदहरु वेलमा प्रवेश गर्दै नारावाजी गरे । नाराबाजीका बीच रोस्टमबाट उनले प्रमाण बिना आफ्नो राजनीतिक करिअर सिध्याउने नियतले आफूमाथि प्रहार भैरहेको उल्लेख गर्दै बचाउ गरेका छन् । गृहमन्त्री लेखकले रास्वपाले आफूमथि प्रतिशोध लिएको आरोप लगाउँदै राजीनामा दिनु राजनैतिक र नैतिक दुवै रुपमा युक्तिसंगत नहुने बताए ।
यद्यपी उनले आफू मन्त्रालयमा आउनु पूर्व नै विमानस्थलबाट मानव तस्करी हुने गरेको विषय भने स्वीकार गरेका छन् । पछिल्लो चार वर्षको अवधिमा भिजिट भिसामार्फत विदेशिएका नेपालीको तथ्यांक उल्लेख गर्दै गृहमन्त्री लेखकले आफ्नो कार्यकालमा भन्दा अगाडिका माओवादी र रास्वपाका गृहमन्त्री हुँदा धेरै नागरिक विदेशिएको तथ्य प्रस्तुत गरे ।
गृहमन्त्रीका अनुसार भिजिट भिसामार्फत पछिल्लो चार वर्षमा ७ लाख ६३ हजार बढी नेपाली
विदेशिएका छन् ।
गृहमन्त्री लेखकले भने, ‘ सन् २०२२ मा १ लाख १२ हजार ६९० पुरुष र ६४ हजार ६०५ महिला गरी १ लाख ७७ हजार २९५ जना मानिस भिजिट भिसामा बाहिर गरएका छन् । २०२३ मा १ लाख ३० हजार ९१६ पुरुष र ७३ हजार ५८९ महिला गर २ लाख ४ हजार ४९५ जना बाहिर गएका छन्, जुनबेला रमेश लेखक गृहमन्त्री थिएन ।’ उनले थप भने, ‘सन् २०२४ मा १ लाख ५९ हजार ४१ जना पुरुष र १ लाख १५ हजार ३५८ जना महिला गरेर २ लाख ७४ हजार ३९९ जना मानिस भिजिट भिसामा बाहिर उडेका छन् । २०२५ को मे महिनामा ५५ हजार ४ सय ५१ जना पुरुष ४३ हजार ३८६ महिला गरी ९८ हजार ८८७ जना मानिसहरु भिजिट भिसामा बाहिर गएका छन् । यो निरन्तरको प्रकृया हो निरन्तर मानिसहरु बाहिर गहिरहेका छन् ।’
यस्तै उनले आफू भन्दा पहिलेका गृहमन्त्रीहरु यो प्रकरणमा नैतिक रुपमा जिम्मेवार हुनुपर्ने तर्क गर्दै यसमा पूर्ण रुपमा राजनीतिक पूर्वाग्रहबाट आफूलाई आरोप लगाइएको दाबी गरे । उनले आफ्नो संलग्नता पुष्टि गरेर देखाउन चुनौति दिएका छन् ।
उनले आफ्नो राजनैतिक चरित्र हत्या भैरहेको उल्लेख गर्दै त्यसलाई बन्द गर्न चेतावनि दिए । ‘म भन्दा पहिला यो पदमा रहनुभएका माननिय मन्त्रीजिको बेलामा मेरो पालमा भन्दा बढी मानिस विदेश गएका छन् । म चुनौति दिन्छु, तपाईंहरु नौतिकताको प्रश्न गर्दै हुनुहुन्छ, तपाईंहरुसँग नौतिक बल छ भने हिजो जुन मानिस विमानस्थलबाट विदेश गएका छन् म मन्त्री नभएका बेला उहाँहरुमाथि नैतिकताको प्रश्न उठाउनुभयो ? यो मेरो राजनीतिक चरित्र सिध्याउनका लागि राजनैतिक प्रतिशोध साँध्नका लागि उठाएका विषय हुन्, यस्ता निकृष्ठ तपाईंका चाहना बन्द गर्नुुस ’ लेखकले भने ।
जीवनभर अपराध कर्मलाई तिरस्कार गरेको उल्लेख गदै यो प्रकरणमा कुनै पनि हालतमा आफ्नो संलग्नता नरहेको उनको दाबी छ । भिजिट भिसामा अख्तियारको अनुसन्धानसमेत प्रभावित हुने खालको गतिविधि विपक्षी पार्टीहरुले गरिरहेको दाबी पनि उनको छ ।
















प्रतिक्रिया दिनुहोस्