
काठमाडौं । सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर सडकमा उत्रिएका छन् । सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरुले सटर बन्द गरेर र्याली निकालेका छन्। व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरहरुले समेत साथ दिएका छन् । व्यवसायीले सुनचाँदीमा सरकारले लगाएको विलासिता कर फिर्ता गर्नुपर्ने मुख्य माग राखेर निरन्तर विरोध गर्दै आएका छन् । सरकारले सुनचाँदी र हिरा लगायतका बहुमूल्य गरगहनामा विलासिता कर र भ्याट लगाउने घोषणा गरेपछि सुनचाँदी व्यवसायीहरुले त्यसको खारेजीको माग गर्दै व्यवसाय नै बन्द गरेर आन्दोलनमा होमिएका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेको छ । यो करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने भन्दै व्यवसायीहरूले त्यो खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्