काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन स्वीकार्य नहुने बताएका छन् ।
बिहीबार भक्तपुरको गुन्डुमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा गठित छानबिन आयोग एमालेलाई मान्य नहुने बताएका हुन् । ओलीले भने, ‘केपी ओलीलाई समानुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढे भन्ने नाटक गर्ने ?’
छानबिन आयोगको प्रतिवेदनलाई नमान्ने चुनौती दिँदै उनले अगाडी भने, ‘तपाईंहरूले प्रतिवेदन लेख्नुस्, बुझाउनुस् । फैसला गर्नुस् । एमालेलाई मान्य छैन । नेपाली जनतालाई मान्य छैन । जे जे गर्नु छ गर्नुस्।’
कार्कीले सामाजिक सञ्जालमा ओलीलगायतका नेतालाई लिएर लेखेको स्टाटसलाई लिएर एमाले नेताहरुले असन्तुष्टि जनाइरहेका छन् । सोही विषयलाई लिएर आज एमाले अध्यक्ष ओलीले गौरीबहादुर कार्कीको राजीनामा माग गरे । गठित आयोगलाई नक्कली आयोगको संज्ञा दिएका ओलीले कार्कीको भूमिकामाथि नै प्रश्न उठाए । ‘आयोगमा राखिनु, बस्नुभन्दा अगाडिको प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु पर्दैन थियो ? ओलीले प्रश्न गर्दै भने, ‘एउटा मान्छे अहिलेको अहिले विरोधीबाट निष्पक्ष हुन संभव छ ।?’
सरकारले जेन–जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा असोज पाँच गते तीन सदस्यीय न्यायिक आयोग बनाएको थियो।
आइतबार ( असोज पाँच गते) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग बनाएको हो । आयोगको कार्यावधि तीन महिनाको छ ।

















प्रतिक्रिया दिनुहोस्