Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

लहान नगरद्वारा खाद्य संस्थानलाई सामग्री सहयोग

विज्ञापन
Advertisement

सिरह । जेनजी प्रदर्शनका क्रममा लुटपाट, आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लहान शाखा कार्यालयलाई पुनः सञ्चालनमा ल्याउन लहान नगरपालिकाले आवश्यक सामग्री सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज नगरप्रमुख महेशप्रसाद चौधरीले एक कार्यक्रमका बीच संस्थानलाई कम्प्युटर एक थान, प्रिन्टर एक थान, १० वटा कुर्सी, चारवटा टेबल, १० वटा प्लास्टिकका टेबललगायत सामग्री हस्तान्तरण गर्दै कार्यालयलाई स्थायित्व दिन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘खाद्य संस्थानका कारण यहाँका किसानले धानको उचित मूल्य पाएका छन्, त्यसैले कार्यालय अन्यत्र स्थानान्तरण गर्नु उपयुक्त हुँदैन । स्थानीय तहको सहयोगमा यो कार्यालयलाई यहीँ टिकाइराख्ने निर्णय गरेका हौँ ।’

यसअघि पनि लहानको खाद्य संस्थानमा पटकपटक लुटपाट भएकाले कार्यालय स्थानान्तरणको बहस चलिरहेको अवस्थामा स्थानीय तहको सक्रियतामा कार्यालयलाई पुनः सञ्चालनमा ल्याउने प्रयास गरिएको हो ।

कार्यालय पुनः सञ्चालनका लागि आवश्यक सामग्री प्राप्त भएपछि व्यापार कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारले कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री प्राप्त भएसँगै दैनिक कामकाज सहज भएको उल्लेख गरे। उनले भने, “नयाँ सामग्री पाएसँगै नियमित रूपमा दैनिक प्रशासनिक कार्य सहज र व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुग्नेछ ।”

कार्यालयका अनुसार गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा खाद्य संस्थानको कार्यालयमा आगजनी हुनुका साथै चारवटा गोदाममा भण्डारण गरिएको आठ हजार १४८ क्विन्टल चामल, तीन हजार २२० क्विन्टल चिनी, ५३ क्विन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा लुटिएका थिए ।

त्यसैगरी, खाद्यान्न भण्डारणमा प्रयोग हुने विशेष प्रकारका ‘फ्युमिगेसन सिट’ समेत लुटिएको थियो । संस्थानका अनुसार लुटपाटबाट भएको अनुमानित क्षति रु १० करोड ९१ लाख २२ हजार ८२७ रहेको छ । लुटपाटपछि स्थानीय युवा र प्रशासनको संयुक्त प्रयासमा दुई सय ९३ क्विन्टल ४३ किलो चामल र सात क्विन्टल ८४ किलो चिनी फिर्ता भएको खाद्य संस्थानले जनाएको छ ।

यसअघि पनि २०६३ सालको मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनका क्रममा गरी तीनपटकसम्म लहानको खाद्य कम्पनीमा लुटपाट भइसकेको छ । सोही कारणले आगामी दिनमा सामान्य आन्दोलनका बेलामा पुनः लुटपाटको जोखिम उच्च रहेको स्थानीय बताउँछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit