काठमाडौं। नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच
सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका स्वास्थ्य समिति संयोजक मृगेन्द्र मेहर श्रेष्ठ र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। अमित तोमरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
एक वर्षका लागि लागू हुने उक्त सम्झौताअनुसार चेम्बरका पदाधिकारी, कार्यसमिति सदस्य, कर्मचारी, जिल्ला चेम्बर सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवार (पति/पत्नी, बाबुआमा तथा २२ वर्षमुनिका दुई सन्तान) ले समेत नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा विशेष स्वास्थ्य सेवा तथा विभिन्न सहुलियत प्राप्त गर्नेछन्।
सम्झौताअनुसार अस्पतालले भर्ना सेवा तथा बहिरङ्ग सेवा अन्तर्गत १० प्रतिशत छुट उपलब्ध गराउनेछ। तर औषधि, उपभोग्य सामग्री, प्रत्यारोपण सामग्री, प्याकेज सेवा तथा बाह्य परीक्षणमा उक्त छुट लागू नहुने जनाइएको छ। बीमामार्फत प्रत्यक्ष नगदरहित सेवा प्राप्त हुने अवस्थामा पनि छुट सुविधा लागू नहुने चेम्बरले जनाएको छ।
यस सहकार्यअन्तर्गत नेपाल मेडिसिटी अस्पतालले चेम्बरका सदस्य तथा कर्मचारीका लागि वर्षमा दुई पटक स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्ने, आधारभूत जीवन रक्षा सम्बन्धी तालिम प्रदान गर्ने, विशेष स्वास्थ्य प्याकेज उपलब्ध गराउने तथा रक्तदान कार्यक्रम आयोजना गर्ने सहमति जनाएको छ।
दुवै संस्थाले सेवा प्रवाह, समन्वय तथा सूचना आदानप्रदानका लागि सम्पर्क व्यक्ति तोक्ने तथा प्राप्त सूचनाको गोपनीयता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उक्त सहकार्यबाट चेम्बरका सदस्य, उनीहरूका परिवार तथा व्यवसायिक समुदायले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्राप्त गर्ने विश्वास व्यक्त गरे। नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा निवारणमुखी स्वास्थ्य सेवाले स्वस्थ व्यवसायिक समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
त्यसैगरी नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले यस सहकार्यले सदस्य तथा व्यवसायीलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने बताए। स्वास्थ्य क्षेत्रको विकासका लागि सबै सरोकारवाला निकायबीच साझा प्रयास आवश्यक रहेकोमा उनले जोड दिए।















प्रतिक्रिया दिनुहोस्