images images images
images images images
images
images
images

क्रिकेटमा नयाँ अध्याय लेख्न विश्वकप अघि नेपाली टोलीले पाउन सक्छन् सुनौलो अवसर

images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातारको सफलतापछि विश्व क्रिकेट जगतमा अब्बल टिमको रुपमा आफ्नो परिचय दिलाएको छ।

देशभित्रको विषम राजनैतिक परिस्थितिका साथै अन्योलपूर्ण अवस्थामा पनि नेपाली क्रिकेट खेलाडीहरूले निरन्तर २०२६ मा हुने विश्वकपमा प्रवेशको सपना देख्नुका साथै यथोचित सङ्घर्ष गर्दै सफलता हात पारेर खेलकूद क्षेत्रसँगै देशको शीर उँचो बनाइदिएका छन् । वेष्ट इण्डिज जस्तो टेष्ट प्रतियोगिता खेल्ने राष्ट्रलाई क्रिकेट श्रृङ्खलामै पराजित गरेर उच्च मनोबल बनाउँदै ओमान पुगेको नेपाली टिम आगामी सन् २०२६ मा भारत तथा श्रीलङ्कामा आयोजना हुने टि–ट्वान्टी विश्वकपका लागि तेस्रोपटक छनोट भएपछि सम्पूर्ण देशवासी गौरवान्वित बनेका छन् ।

images
images

सन् २०१४ मा पहिलोपटक विश्वकपका लागि छनोट भएको भएको नेपालले १० वर्षपछि सन् २०२४ मा दोस्रो पटक विश्वकप खेलेको थियो। यसपाली लगातार विश्वकपमा सहभागिताका लागि प्रतिस्पर्धा गरिरहेको नेपाल छनोट चरणको दुई खेल सम्पन्न हुनुअघि नै विश्वकपमा प्रवेश गर्न सफल भएको थियो । संयुक्त अरब इमिरेटस युएईले सामुआलाई ७७ रनले पराजित गरेपछि नेपाल दुई खेलअघि नै विश्वकपमा प्रवेश पाउन सफल भएको हो । त्यसपछि नेपालले ओमानलाई उनीहरूको गृह मैदानमा सानदार नतिजाले पराजित गरेर सहभागीहरूको अङ्क तालिकामा आठ अङ्कसहित शिर्ष स्थानमा पुग्नु नेपालकै ठूलो ऐतिहासिक उपलब्धि मानिएको छ। नेपालले एशिया क्षेत्रीय छनोट प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्दै विश्वकपमा स्थान सुनिश्चित गरेको हो । नेपालले समूह चरणमा लगातार जित दर्ता गर्दै फाइनलमा उत्कृष्ट रनरेटका साथ विश्वकपमा प्रवेश गरेको समाचारले विश्वभर भरका सञ्चार माध्यममा स्थान पाएको छ ।

दोस्रोपटक प्लेयर अफ दि म्याच

कुनै पनि खेलमा उत्कृष्ठ खेलाडी बन्न त्यति सहज हुँदैन । त्यसमाथि पनि विश्वकप छनोट जस्तो उच्चस्तरको क्रिकेट प्रतिस्पर्धामा दुई पटक प्लेयर अफ दि म्याचको उपाधि जितेर नेपाली ब्याटसम्यान कुशल भुर्तेलले उत्कृष्ठ खेलाडीको परिचय बनाएका छन् । विश्वकपको छनोटमा नेपालले खेलेका प्रायः सबै खेलमा ब्याट्सम्यान भुर्तेलले महत्वपूर्ण भूमिका निभाउन कुनै कसर बाँकी राखेनन् । नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्दा उनको योगदान चर्चा योग्य रह्यो । बुधबारको खेलमा टस जितेर ब्याटिङ रोज्नुनै नेपालको उपयुक्त निर्णय हुन पुग्यो । विपक्षीलाई दबाबमा दिएर रन बटुल्ने काममा भुर्तेल जस्ता खेलाडीले सफलता हासिल गरे । कुवेतसँगको खेलमा कूल ६६ रन बनाई प्लेयर अफ दि म्याच बनिसकेका भुर्तेलले ओमानसँगको खेलमा ६९ रन बनाएर उत्कृष्ठ प्रदर्शन गरेका थिए ।

यस खेलमा बलिङतर्फ नेपालका लागि गुलसन झाले तीन विकेट लिएपछि ओमानलाई दबाबमा राख्न नेपाली टोली सफल भएको थियो । समग्रमा नेपालको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षको समयोचित संयोजनले विजयोन्मुख गराएको थियो। सुपर सिक्स चरणको खेल सम्पन्न हुनु अगाडि नै नेपाल र ओमानले विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेका थिए । अघिल्ला तीनवटै खेलमा लगातार विजय हासिल गरेका नेपाल र ओमानको समान अङ्क भएपनि नेट रन रेटको आधारमा अग्रस्थानमा रहेको ओमानलाई नेपालले घरेलु मैदानमै पराजित गरेपछि ओमानी खेलप्रेमीहरूले विश्वकप प्रवेशको खुशीयाली पनि उत्साहका साथ मनाउन सकेनन् ।

सन्दीपको सफलता

केही साताअघि नेपाल र वेष्ट इण्डिजबीच भएको क्रिकेट श्रृङ्खलामा खेल्न सारजहाँमा पुगे पनि नेपाल क्रिकेट सङ्घद्वारा निलम्बनमा परेर खेल्न नपाएका लेग स्पिनर सन्दीप लामिछानेले विश्वकप छनोटको सिलसिलामा विभिन्न खेलमा विकेट त लिए । तर कतारलाई पराजित गर्दा लामिछाने एक्कैले लिएको पाँच विकेट प्रशंसायोग्य मानिएको छ। कतारविरुद्धको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गरेको थियो । हारको नजिक पुगिसकेको सो खेलको नतिजा अन्तिम ओभरमा आफ्नो पक्षमा ल्याउन सफल लामिछाने प्लेयर अफ दि म्याच बन्न सफल भएका थिए । उनले यस अघि पनि एउटै खेलमा पाँच विकेट लिइसकेका छन् । नेपाली खेलाडीहरूमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव बटुल्न सफल लामिछानेको अन्तर्राष्ट्रिय विकेट सङ्ख्या २५५ पुगिसकेको छ । कतारबिरुद्ध कप्तान रोहित पौडेलले अर्धशतकको योगदान गरेका थिए ।

पीडा बिर्साउने दिपेन्द्र

नेपालले विगतको पीडा भुल्ने मौका समेत ओमानमा पाएको थियो । विश्वकपको छनोट चरणको क्रममा नेपालले झिनो रनको सहायताले विपक्षीलाई पराजित गर्दै विगतको नतिजालाई बिर्सिन खोज्यो । सन् २०२४ को विश्वकपको सिलसिलामा नेपाल दक्षिण अफ्रिकासँग एक रनको अन्तरले पराजित भएको थियो । यसपालि नेपालले संयुक्त अरव इमिरेटस (युएई)लाई एक रनले पराजित गर्दै नेपालले विगतको पीडा बिर्सायो । यसरी झिनो अन्तरले पराजित गर्दै पीडा भुलाउने खेलाडी थिए दिपेन्द्रसिंह ऐरी । यसपालि सबैजसो खेलमा उनको भूमिका सन्तोषजनक मानिएको थियो । युएई बिरुद्धको खेलमा उनको बलिङ होस् वा फिल्डिङ उत्कृष्ठ रहेको थियो । उनले चार ओभरमा २२ रन दिंदै तीन विकेट लिएका थिए भने एउटा रन आउट समेत गरेका थिए ।

नेपाललाई उक्त खेलमा बिजयी बनाउन प्रभावकारी भूमिका निभाएवापत उक्त खेलमा उनी प्लेयर अफ दि म्याच बन्न सफल भएका थिए । उनले तीन विकेट लिएका थिए। अन्तिम ओभरमा उनको बलिङ सानदार देखिन्थ्यो । तीन बलमा तीन रन आवश्यक भएको परिस्थितिमा तिनै बलमा विकेट लिएर उनले आफ्नो टिमलाई विजयोन्मुख गराउन पुगे । सो खेलमा आशिफ शेखले अर्धशतक बनाएका थिए । उनकै कारण आफ्नो पक्षमा भएको खेल युएईले जित्ने आँकलन गरेको खेलमा पनि पराजय भोग्नु परेको थियो । जारी सिरिजको पाँच खेलमा उनले पाँच ओटा रनआउन गराएका छन् । जुन टिमको लागि महत्वपूर्ण सावित भैसकेका छन् ।

२५ वर्षपछि भेट

विश्वकप छनोटका सिलसिलामा नेपाल र जापानबीच दुई दशक लामो समयपछि भेट भएको छ । विगतमा दुई मुलुकबीच एशियन क्रिकेट काउन्सिल (एसिसी)अन्तर्गत प्रतिस्पर्धा हुने गरेको थियो भने हाल जापान पूर्वी एशिया प्रसान्त क्षेत्रअन्तर्गत प्रतिस्पर्धा गर्ने गरेकाले विश्वकप छनोटले दुई देशका टिमलाई २५ वर्षपछि प्रतिस्पर्धा गर्ने अवसर जुटाई दिएको थियो । नेपालले जापानलाई पाँच विकेटले पराजित गरी सुपर सिक्समा प्रवेश गरेको थियो ।

कप्तानको अनुभूति

सन् २०१४ मा नेपाल पहिलोपटक विश्वकपमा प्रवेश गर्दा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खडका थिए। उनी हाल नेपाल क्रिकेट सङ्घ क्यानको सचिवको भूमिकामा रहेका छन् । नेपाल तेस्रो विश्वकपतर्फ अगाडि बढिरहेपछि उनले सामाजिक सन्जाल फेसबुकमार्फत क्रिकेट सङ्घ सम्बन्धित सबैलाई बधाई दिएका छन् । उनले अब नेपाललाई इण्टरनेशनल क्रिकेट काउन्सिल (आइसिसी)को पूर्ण सदस्य राष्ट्र बनाउने चाहना स्पष्ट पारेका छन् । विश्वकप क्रिकेट छनोटका सिलसिलामा टिम व्यवस्थापनदेखि मैदानमा समेत सक्रिय भूमिका निभाइरहेका २२ वर्षीय रोहित पौडेल पनि आफ्नो नेतृत्वको टिम विश्वकपमा प्रवेशपछि बधाई थाप्न र समर्थकलाई बधाई दिने काममा ब्यस्त रहेका छन्। विश्वकप छनोटको तयारीको अवस्थामै उनले १२ कक्षाको परीक्षा उत्तीर्ण गरेका थिए । उनले समर्पण, विश्वास र एकताबाट फेरि विश्वकपमा जाने सपना वास्तविकतामा परिणत भएको धारणा फेसबुकमार्फत ब्यक्त गरेका छन् ।

महिला पनि सँगसँगै

पुरुष क्रिकेट टिमले विश्वकपमा छनोट हुनका लागि दाबेदारी प्रस्तुत गरिरहँदा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पनि आफ्नो टिम सशक्त भएको उदाहरण प्रस्तुत गर्नु अर्को गर्वको प्रसङ्ग मानिएको छ । नेपाली महिला क्रिकेट टोलीले पछिल्लो पटक टि–ट्वाण्टी अन्तर्राष्ट्रिय श्रृङ्खलामा मलेसियालाई उनीहरूकै घरेलु मैदानमा पराजित गरेर उपाधि जित्न सफल भएको थियो । क्वालालम्पुरमा भएको उक्त प्रतियोगितामा सञ्चालन गरिएको पाँच खेलमध्ये नेपालले तीन खेल जितेर उपाधि आफ्नो कब्जामा लिन सफल भएको हो । नेपालमा सन् २००० मै महिला क्रिकेटको सुरुवात भएको थियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २००५ मा पहिलोपटक महिला घरेलु क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । क्यानले नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको निर्माण सन् २००७ मा गरेर अन्तर्राष्ट्रिय सहभागिता प्रारम्भ गरेको थियो ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दै आइरहेको छ । महिला टोलीले सन् २००७ को जुलाईमा एसिसी महिला क्रिकेट प्रतियोगिताबाट अन्तरराष्ट्रिय डेब्यू गरेर अहिले टि–ट्वाण्टी इण्टरनेशनलको विश्व वरियताक्रममा २१औँ स्थानमा पुगिसकेको छ । नेपालले सन् २००७ मा थाइल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेको थियो । नेपाली महिला टोली पहिलो पटक टि–ट्वाण्टी इण्टरनेशनल क्रिकेट भने सन् २०१९ को जनवरी १२ तारिखका दिन चीनसँग खेलेको थियो ।

यसअघि नेपाली महिला टोलीले २०१२ मै पहिलोपटक महिला टि–ट्वाण्टी एसिया कपमा भाग लिएको थियो । नेपाली टोली सन् २०१६ महिला एसिया कपको लागि पनि छनोट भएको थियो । नेपालको जुनियर महिला टोलीले आइसीसी महिला यू–१९ विश्वकप एसियाली छनोट, सन् २०२२ मा तेस्रो स्थान हासिल गरेको थियो । नेपालले २०२७ मा आइसीसी यू–१९ महिला विश्वकप आयोजना गर्ने तयारी गरेको छ । उक्त आयोजना महिला क्रिकेटको विकासकालागि कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

सरकारको सम्मान

खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीहरूको सम्मानमा नेपाल सरकारले हुलाक टिकट प्रकाशन गर्नु गौरवको विषय मानिएको छ । नेपालमा विगतमा खेलकुदसम्बन्धी विभिन्न हुलाक टिकट प्रकाशन गरिए पनि पहिलोपटक क्रिकेट खेलका पुरुष तथा महिला खेलाडीका बेग्लाबेग्लै हुलाक टिकट प्रकाशन गरिनु सानो सम्मान होइन । हुलाक सेवा विभागले आइसिसी पुरुष विश्वकप तथा आइसिसी महिला यु १९ विश्वकपमा भाग लिएका खेलाडीहरूको तस्बिर अङ्कित हुलाक टिकटमा प्रकाशनको पहिलो टाँचा लगाउने कार्यको प्रारम्भ गरेको थियो ।

पुरुष तथा महिला क्रिकेट खेलाडीका बेग्लाबेग्लै दुई प्रकारका हुलाक टिकट पाँच लाख प्रति प्रकाशन गरिएको छ । विश्वकपमा प्रवेश गरिसकेपछि अब टिम स्वदेश फर्कंदा नेपाली खेलाडीहरूको उचित सम्मान गर्न सम्बन्धित निकायले तयार गर्ने नै छ । विजयी खेलाडीका लागि सरकारले घोषणा गरेको आर्थिक पुरस्कार यथाशीघ्र प्रदान गर्न पनि सरकारले प्राथमिकता दिनु पर्दछ । मुख्यतः खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाको सिर्जना गरी रोजगारका लागि विदेशिने क्रमको अन्त्य गर्न सरकारको सक्रियता अति महत्वपूर्ण मानिएको छ ।

नेपालले तेस्रोपटक टि–ट्वाण्टी विश्वकपमा प्रवेश गर्नु क्रिकेट खेलाडीहरूको मात्र सफलता नभएर सम्पूर्ण नेपालकै लागि गर्वको क्षण मानिएको छ। खेलाडीहरूको लगातार कठिन परिश्रम, सङ्घर्ष तथा राष्ट्रप्रेमको परिणामस्वरुप नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान थप बलियो बनाउन सफल भएको छ। यो उपलब्धि केवल खेलाडीहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताहरूको हो । यस ऐतिहासिक उपलब्धिले नेपाली खेलाडीहरूलाई आगामी दिनका कठिन चुनौतीहरूलाई सामना गर्न संयम र सक्षम बनाउने छ । विश्वकप अघिको बाँकी समय नेपाली पुरुष क्रिकेट टोलीका लागि अझै सुनौलो र महत्वपूर्ण हुने छ । उसो त यो बीचमा नेपाली टोलीले टेस्ट राष्ट्रका अनुभवि टोलीसँग खेल्ने मौका पाउन सक्छन् । पूर्वाधार निर्माण भैरहेकाले नेपाल आफैंले पनि टेस्ट राष्ट्रका टोलीसँग लिग नै होस्ट गर्न सक्ने सम्भावना बलियो बन्दै गएको देखिन्छ । भारत र श्रृलंकामा हुने विश्वकपको तयारीका लागि विश्वकप खेल्ने अन्य राष्ट्रलाई नेपाल उपयुक्त देश हुने देखिन्छ । यसको लागि नेपालले सोच्नुपर्छ । साथै नेपालले अब विश्व क्रिकेटमा आफ्नो सम्मान र पहिचान कायम गर्दै नयाँ अध्याय लेख्ने विश्वासमा समस्त देशवासीहरू आशावादी रहेका छन् । राजु सिलवाल

images
images

प्रतिक्रिया दिनुहोस्