Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

मन्था आँधीको कारण शनिबारसम्म नेपालभरको मौसम प्रभावित हुने, कुन प्रदेशमा कति खतरा ?

मन्था आँधीको कारण शनिबारसम्म नेपालभरको मौसम प्रभावित हुने, कुन प्रदेशमा कति खतरा ?
विज्ञापन
Advertisement

काठमाडौं । अहिले देशभरि नै साधारणतया मौसम बदली रही उच्च हिमाली तथा पहाडी भूभागमा बाक्लो हिमपात र केही स्थानमा वर्षा भइरहेको छ । यसो हुनुमा भारतको आन्ध्र प्रदेश हुँदै आएको ‘मन्था’ नामक आँधीको प्रभाव परेको मौसमविद्हरूले बताएका छन् । यसको प्रभाव शनिबारसम्म नेपालभर देखिने मौसम पूर्वानुमान छ ।

विज्ञापन
Advertisement
Advertisement

बंगालको खाडीमा बनेको मन्था आँधी जमिनमा कमजोर भए पनि त्यसको असर नेपालसम्म पुग्ने संकेत देखिएको वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार, मन्था आँधीको कारण आगामी केही दिन नेपालभर वर्षा गराउने छ । भारतको आन्ध्र प्रदेशको टतीय क्षेत्रमा मंगलबार नै प्रवेश गरेको उक्त आँधी बुधबार उत्तरतिर सर्ने क्रममा नेपाल प्रवेश गर्ने हुँदा केही प्रदेशमा भारी वर्षा गराउनेछ । साथै वर्षा नभएका स्थानहरुमा समेत बादल लाग्ने सम्भावना रहेको छ । पौडेलले भने, ‘बंगालको खाडीबाट आन्ध्र प्रदेशको तटीय क्षेत्रमा हिजो बेलुकादेखि नै प्रवेश गरिसकेको मन्था आँधी पश्चिमतिर आइरहेको अवस्था छ । बिस्तारै अब उत्तरतिर सर्ने क्रममा हाम्रो नेपालतिर पनि त्यसको बादलहरू बेलुकाबाट देखिन सक्ने देखिन्छ । त्यसकारणले भोलि–पर्सि या शनिबारसम्म नेपालभरको मौसम बढी प्रभावित हुने देखिएको छ ।’

मन्था आँधीको प्रभावले आगामी केही दिन विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद् पौडेलले बताए । उनका अनुसार कोशीदेखि लुम्बिनीसम्मका धेरै क्षेत्रमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपातको सम्भावना देखिएको छ। ‘विशेष गरेर कोशी, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भूभागहरूमा बदली हुने, धेरै स्थानमा वर्षा हुने, कतिपय स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ,’ उनले भने, ‘उच्च हिमाली भूभागमा हिमपात पनि हुन सक्ने देखिएको छ,’ पौडेलले भने ।

उनले विशेषगरी मधेस प्रदेशमा भारी वर्षा हुन सक्ने बताए । यस्तै, कोशी प्रदेशको पहाडी भूभागमा पनि भारी वर्षा र धेरै ठाउँमा मध्यम वर्षा पनि हुन सक्ने अनुमान पौडेलको छ । ‘कोशी, बागमती प्रदेशको उच्च हिमाली भूभागहरू, त्यस्तै गण्डकी प्रदेशको उच्च हिमाली भूभागहरूमा केही स्थानमा भारी हिमपात छ भने, केही स्थानमा मध्यम हिमपात हुने देखिएको छ,’ पौडेलले भने ।

विशेष गरी कोशी, मधेस र बागमती प्रदेशमा सावधानी अपनाउन उनले आग्रह गरेका छन्। समग्रमा शनिबार बिहान वा दिउँसोबाट मौसममा सुधार हुने देखिए पनि शनिबारसम्म मौसम प्रभावित हुने भएको छ । हिमाली क्षेत्रमा हिमपात भएसँगै देशभर तापक्रम घट्नुका साथै ह्वात्तै चिसो बढेको छ । ‘मनसुनपछिको समयमा बिस्तारै दिउँसोको दिन छोटो हुँदै जाने तथा रात लामा हुँदै जाने हुन्छ । चक्रवातको कारणले मौसम बदली भयो र दिउँसोको तापक्रम पनि बढ्न पाएको छैन । बीचमा पानी पनि परेको छ। कतिपय हिमाली क्षेत्रमा हिमपात समेत भएको कारणले केही चिसो हावाको पनि महसुस भएको छ,’ उनले भने ।

उनले बिहीबार मनाङ–मुस्ताङमा हिमपात हुन सक्ने सम्भावना रहेको भन्दै बिहीबारको हकमा सावधानी अपनाउनु पर्ने बताए । उनले गण्डकी प्रदेश, बागमती, कोशी प्रदेशको खुम्बु क्षेत्र, गोक्यो क्षेत्रमा भारी हिमपात हुन सक्ने मौसम पूर्वानुमानमा देखिएको उल्लेख गर्दै पदयात्रामा गएका यात्रुहरुलाई सुरक्षित भएर बस्नको लागि आग्रह समेत गरे ।

बिहीबार मौसम धुम्म भई शुक्रबार झरी पर्ने अवस्था रहेको जानकारी दिँदै पौडेलले काठमाडौं लगायत मधेस र कोशी प्रदेशमा झरी र हिमाली भेगमा हिमपात हुनसक्ने बताए । आइतबारदेखि मौसम सफा हुने उल्लेख गर्दै त्यसअघि किसानहरुलाई धानबाली नकाट्न आग्रह गरेका छन् । उनले पश्चिम तराईका भूभागहरु, कैलाली, धनगढीलगाउतका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना नभएको जानकारी दिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit