Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

५६ हजार बढी महानगरबासी स्वास्थ्य बीमामा आवद्ध, यो वर्ष साढे ९० करोड विनियोजन

५६ हजार बढी महानगरबासी स्वास्थ्य बीमामा आवद्ध, यो वर्ष साढे ९० करोड विनियोजन
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका ५६ हजार ६ सय ७३ जना नगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यसमा १३ हजार ५ सय ७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका र एचआइभी संक्रमित २ जनासहितका रहेका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा गर्दै यस सम्बन्धी जानकारी दिँदै यस वर्ष १ लाख ९४ हजार १ सय ९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । त्यसमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन् ।
महानगरपालिकाको स्वास्थ्य विभागले गरेको वार्षिक समीक्षा अनुसार यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिए भने १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छ ।

यस्तै, महानगबाट १ हजार ८७ जनाको विपन्न नागरिक उपचार सिफारिस हुँदा वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा लिएका छन् । नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच भएको विभागले जनाएको छ । किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरुको परीक्षण भएको तथा १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराइएको विभागको तथ्यांकमा उललेख छ ।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा अनुसार यस वर्ष वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा प्रारम्भ भएको छ । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरेको उल्लेख गरेको छ । ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन गरिएको थियो । यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा उपलब्ध छन् । यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरुको लगत संकलन थालनी गरिएको र २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको महानगरले जनाएको छ ।

यस वर्ष खोप सेवा प्राप्त गर्नेहरुको संख्या १६ हजार १८८ जना पुगेको छ । स्वयम् सेविका मार्फत ५९ हजार ६२० जनाले सेवा प्रदान गरिएको तथ्यांक छ । १० वर्षदेखि १९ वर्षसम्म उमेर समूहका किशोर किशोरी पोषण कार्यक्रमका लक्षित वर्गको संख्या ७३ हजार ८९२ जना थियो । यस समूहका किशोरीहरुलाई आइरन र फोलिक एसिड वितरण गरियो । एक वर्ष अवधिमा १३ हजार ६६० जना शिशुको जन्म भएको छ । शिशुको सुरक्षित जन्मका लागि गर्भवती आमालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो ।

खोप अभियानअन्तर्गत २०७३ साल बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरुका लागि ओरल पोलियो भ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको थियो । २०८१ जेठ १३ गतेदेखि १९ गतेसम्म चलेको कार्यक्रममा २ लाख ३६ हजार १७२ जना बालबालिका अनुमान गरिएकोमा २ लाख १४ हजार १६५ जना अर्थात् ९० दशमलव ६८ प्रतिशतलाई खोप दिइएको छ । पाँच वर्ष मुनिका बालबालिकाहरुमा हुने रोग नियन्त्रणका लागि ६६ हजार ५१९ जना लक्षित बालबालिका थिए । एमोक्सिसिलिनबाट ११४ जनाले उपचार सेवा लिएका छन् । १ हजार ९९१ जना बालबालिका पखालाका कारण उपचारका लागि भर्ना भएकोमा १ हजार ९५६ जनालाई जिङ्क र ओरल रिहाइड्रेसन थेरापीबाट उपचार गरिएको विभागले जनाएको छ ।

यस आर्थिक वर्षका लागि महानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि ९० करोड ५१ लाख ५७ हजार ३ सय रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमा आन्तरिक स्रोतबाट ७८ करोड २१ लाख ८ हजार ८ सय रुपैयाँ, नेपाल सरकारबाट प्राप्त ९ करोड ३८ लाख ६८ हजार ५ सय र प्रदेश सरकारबाट २ करोड ९१ लाख ८० हजार रुपैयाँ महानगरलाई प्राप्त भएको थियो । यसरी विनियोजित रकममध्ये आन्तरिक स्रोततर्फ ५५ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति र ७६ प्रतिशत भौतिक प्रगति भएको छ । नेपाल सरकारबाट प्राप्त रकमको बित्तीय प्रगति ९३ दशमलव २६ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ । प्रदेश सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९६ दशमलव ५१ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ ।

कुल विनियोजित रकमको वित्तीय प्रगति हेर्दा ६५ दशमलव ८६ प्रतिशत प्रगति भएको विभागले जानकारी दिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit