काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यले दुईतर्फी कुराकानी गर्न मिल्ने एआई प्रविधिमा आधारित ‘खुशी’ सार्वजनिक गरेको छ ।
डिशहोमको एआई सेवा विकास तथा विस्तार गर्ने स्पष्ट रणनीति अनुसार एआईको प्रयोग क्षेत्रमा विशेष रूपमा सेवा निष्क्रिय भएका ग्राहकलाई नेपाली भाषामा मानव–जस्तै आवाजमा निरन्तर संवादमार्फत पुनःनवीकरणका लागि सम्पर्क गर्न सक्ने प्रविधि जडित उक्त ‘एआई खुशी’ सार्वजनिक गरेको कम्पनीले जनाएको छ । भोइसमा आधारित खुशीले प्रयोगकर्तालाई सम्बन्धित अफरहरू प्रस्तुत गर्ने तथा कुराकानीको क्रममा प्राप्त हुने प्रतिक्रिया, गुनासो र सुझाव सङ्कलन गरी ग्राहक सेवा केन्द्र समुह सम्म पु¥याउने छ । साथै, कुराकानीकै क्रममा ग्राहकको भावनात्मक प्रतिक्रिया (सेंटिमेन्ट एनालाइसिस) विश्लेषण गरी प्रतिवेदन तयार गर्ने क्षमता समेत एआईमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसबाहेक, समय–समयमा नेटवर्कमा प्राविधिक समस्याले गर्दा सेवा अवरुद्ध भएको खण्डमा उक्त एआई प्रणाली डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकले ग्राहक सेवा केन्द्रमा कल गर्दा अवरोधको कारण, अनुमानित समाधान समय, तथा प्रगति विवरण उपलब्ध गर्न खुशी सक्षम रहेको बताइएको छ । यसले ठूलो परिमाणमा कल आउने अवस्थाहरूमा ग्राहकलाई तुरुन्त र यथार्थ जानकारी उपलब्ध गराई ग्राहक सेवालाई थप प्रभावकारी बनाउने कम्पनीको भनाइ छ ।
भविष्यका विस्तारित योजना
आगामी चरणमा डिशहोमले ‘खुशी’ लाई ग्राहक पहिचान विवरण प्रमाणीकरण गर्ने, सही विवरण सङ्कलन गरी स्वचालित रूपमा ग्राहक डेटाबेसमा अद्यावधिक गर्ने सुविधा थप गर्ने योजना बनाएको कम्पनीले उल्लेख गरेको छ । जडान तथा प्राविधिक मर्मतसम्बन्धी समय व्यवस्थापनमा पनि खुशीको प्रयोग गरिनेछ, जसअन्तर्गत खुशीले ग्राहकसँग सम्पर्क गरी उपयुक्त समय माग्ने, समय पुनःसमायोजन गर्ने तथा सेवा गुणस्तरलाई सधैँ समान र समयबद्ध बनाइ राख्ने भने ग्राहक अनुभवमा महत्वपूर्ण सुधार ल्याउने कम्पनीको विस्वास छ ।
यस्तै, फेसबुक मेसेन्जर र वेबच्याटमार्फत प्रदान हुँदै आएको सामान्य जानकारीका लागि प्रयोग हुने च्याटबोटमा समेत ‘खुशी’ एकीकृत गरिँदैछ, जसलाई आगामी चरणमा ह्वाट्सएप र भाइबरमा समेत विस्तार गरिने कम्पनीको योजना छ । ‘खुशी’को प्रभावकारी उपयोग नेपाली भाषामा आधारित संवादात्मक एआई प्रणालीको स्तर, दायरा र सुधारमा निर्भर छ भन्ने कुरालाई आत्मसाथ गरी एआई प्रविधिको प्रगति र व्यवसायिक प्रयोगलाई सुदृढ बनाउन डिशहोमले अन्तर्राष्ट्रिय एआई अनुसन्धान तथा विकास संस्थासँग सहकार्य गरेको जनाएको छ । यस्तै, विगतदेखि वर्तमानसम्म सञ्चालित आफ्नो विशाल डेटाबेसलाई परिक्षणको क्रममा अनुसन्धान तथा प्रशिक्षणका लागि उपलब्ध गराउन सकिने व्यवस्था समेत मिलाउन लागेको कम्पनीले उल्लेख गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्