महेन्द्रनगर । महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधमा शुक्रबार बिहान ६ बजेदेखि शनिबार साँझ ५ बजेसम्म सिल्ट सफाइ गरिने भएकाले सो अवधिमा महाकाली नदीको जलस्तर बढ्न सक्ने जनाएको छ।
प्रशासनका अनुसार उक्त कार्यका लागि बाँधको ढोका खोलिनेबारे एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुलाबाट औपचारिक जानकारी प्राप्त भएको हो। त्यसैले तोकिएको अवधिमा नदी आसपासका बासिन्दालाई सतर्क रहन, अनावश्यक रूपमा नदी किनारमा नजान र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सम्भावित जोखिमलाई ध्यानमा राखी पूर्वसतर्कता अपनाउन अनुरोध गरेका छन्।
यसअघि जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि महाकाली तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गर्दै यस्तै सूचना जारी गरिसकेको छ।















प्रतिक्रिया दिनुहोस्