वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो चालु आर्थिक वर्षको तुलनामा ७३ करोड रुपैयाँ अर्थात् १६.५५ प्रतिशतले बढी हो।
बुधबार सम्पन्न २०औँ नगर अधिवेशनमा प्रस्तुत बजेटअनुसार चालुतर्फ २ अर्ब ४० करोड ३४ लाख ८५ हजार रुपैयाँ (५४.३ प्रतिशत), पुँजीगततर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ (४४.६ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ (१.१ प्रतिशत) विनियोजन गरिएको छ।
कार्यवाहक नगरप्रमुख इम्तियाज आलम को अध्यक्षतामा सम्पन्न अधिवेशनमा वडा नं. ४ का अध्यक्ष जगत साह कानु ले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा हालसम्म ५८.५ प्रतिशत बजेट खर्च भएको र आर्थिक वर्षको अन्त्यसम्ममा ६५ प्रतिशत खर्च हुने अनुमान रहेको जानकारी दिए।
महानगरले आगामी आर्थिक वर्षका लागि संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन शुल्कबाट ४५ करोड रुपैयाँ, आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोषबाट १५ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको छ।
बजेटमा स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, विपद् व्यवस्थापन, वातावरण संरक्षण, स्वरोजगार प्रवर्द्धन, सहर सौन्दर्यीकरण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणलाई प्राथमिकतामा राखिएको छ।
अधिवेशनलाई सम्बोधन गर्दै कार्यवाहक नगरप्रमुख आलमले सरसफाइ, फोहोर व्यवस्थापन, स्वास्थ्य तथा शिक्षामा विशेष जोड दिइएको बताए। साथै खानेपानी संकट समाधान, सिर्सिया खोलाको व्यवस्थापन, पूर्वाधार विकासलाई तीव्रता तथा पर्यटन प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखिएको जानकारी दिए।
उनले महानगरलाई व्यवस्थित, स्वच्छ र दिगो विकासको मार्गमा अघि बढाउने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको बताए।















प्रतिक्रिया दिनुहोस्