Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निर्वाचन अघि आयोगले कांग्रेस आधिकारिकता विवाद निरुपण गर्ने सम्भावना नै छैन् : अधिवक्ता थापा

निर्वाचन अघि आयोगले कांग्रेस आधिकारिकता विवाद निरुपण गर्ने सम्भावना नै छैन् : अधिवक्ता थापा
विज्ञापन
Advertisement

नेपाली कांग्रेसको भर्खरै विशेष महाधिवेशन सम्पन्न भएको छ । पुस ३० गते राती सम्पन्न कांग्रेसले विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा भैसकेको छ।

विज्ञापन
Advertisement
Advertisement

यो सँगै झन्डै आठ दशक लामो इतिहास बोकेको राजनीतिक दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ। नेतृत्वको कार्य शैलीका कारण विभाजित भएको कांग्रेसको इतिहासमा बुधबार फेरि नयाँ अध्याय थपियो । २०१० सालमा कांग्रेस विभाजन हुँदा बीपी कोइराला र मातृकाको टकराव थियो। त्यसपछि २०५९ गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाको कारण कांग्रेस फुटेको थियो। अहिलेको टकरावमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरूले पार्टीभित्र रुपान्तरणको माग अघि सारेर नेतृत्व परिवर्तको माग गरे। सभापति शेरबहादुर देउवाले त्यसलाई अस्वीकार गर्दा पार्टी पुनः विभाजित भएको छ।

यतिबेला कांग्रेसभित्रका दुई पक्षमध्ये कुनचाँही कांग्रेस आधिकारिक भन्ने विषय सर्वाधिक चासोको रुपमा छ । दुवै पक्षले आफू नै वैधानिक भन्दै निर्वाचन आयोग पुगिसकेको अवस्था छ । यसबारे आयोगले गर्ने निर्णय नै मुख्य हुन्छ । के आयोगले फागुन २१ को निर्वाचन अगाडी कांग्रेस आधिकारिकता विवाद निरुपण गर्न सक्ने सम्भावना छ? हामीले यसबारे अधिवक्ता बोध बिक्रम थापासँग कुराकानी गरेका छौं ।

कांग्रेस विधान अनुसार विशेष महाधिवेशन वैध कि अवैध ?
हालै सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा एउटा नयाँ कार्यसमिति चयन भयो । जो नेतृत्वमा आउनुभयो उहाँहरुलाई कांग्रेस केन्द्रिय समितिले कारबाही गरिसकेको छ। यसलाई आम मान्छेले बुझ्नेगरि भन्ने हो भने भदौ २३ र २४ गतेको आन्दोलन पश्चात जसरी संविधानसम्मत रहेको केपी ओलीको सरकारलाई बहिर्गमन गरेर जसरी सुशीला कार्कीको सरकार बन्यो त्यस्तै घट्ना भएजस्तो देखिन्छ। किनभने शेर बहादुर देउवाको नेतृत्वमा कार्य समिति छँदै थियो । महामन्त्रीहरुले विशेष अधिवेशनको रुपमा देउवालाई विस्थापित गर्ने उद्देश्यले प्रक्रिया अघि बढाउनुभयो । यो विवाद अब निर्वाचन आयोगमा पुगेको अवस्था छ । ४० प्रतिशत प्रतिनिधिहरुले अधिवेशन भनेर जुन माग गर्नुभएको छ त्यो सत्य पनि हो । तीन महिना भित्र केन्द्रीय समितिले नै विशेष महाधिवेशन आब्हान गर्नुपर्ने थियो, त्यो भएन । यसमा प्रतिनिधिहरुको अधिकार कति छ भन्ने प्रमुख कुरा छ ।

विधानमा के भन्छ ?

कांग्रेसको विधानको धारा १७ (२) बमोजिम केन्द्रीय कार्यसमितिले आवश्यकता महसुस गरे विशेष महाधिवेशन बोलाउन सक्ने भनिएको छ । त्यही धाराअनुसार केन्द्रीय कार्यसमितिले बाहेक ४० प्रतिशत केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले विशेष कारण खुलाई केन्द्रसमक्ष विशेष महाधिवेशनका लागि लिखित अनुरोध गर्न सक्छन् । धारा १७ (२) मा ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ, विधानमा यस्तै व्यवस्था छ।

नियमित अधिवेशनको विषयमा दुई महामन्त्रीले सभापतिलाई मात्रै दोष दिएर हुँदैन

भदौको आन्दोलन पछाडि हामी अलि नयाँ किसिमले जानुपर्छ भनेर महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर बुझाउनु भएको हो । बुझाइसकेपछि अहिले सभापति बन्नु भएका तत्कालिन महामन्त्री र अहिले उपसभापति बन्नु भएका तत्कालिन महामन्त्रीहरु समेत बसेर यो विशेष अधिवेशन होइन नियमित अधिवेशन गर्ने भनेर पार्टीमा सर्वसम्मत निर्णय भएको थियो। विशेष अधिवेशन भन्दा पनि नियमित अधिवेशनको लागि भनेर मिति तोकियो र सार्वजनिक गरियो । पुषको १६ गते वडा अधिवेशनदेखि, पालिका, प्रदेशसभा क्षेत्रीय, जिल्ला, प्रदेश हुँदै केन्द्र केन्द्रीय अधिवेशन हुने विधानमै व्यवस्था छ। त्यही अनुसार कार्यतालिका ल्याइयो तर त्यो कार्यान्वयनमा आएन् । यसमा महामन्त्रीहरुले सभापतिलाई मात्रै दोष दिएर मिल्दैन्। किनभने क्रियाशील वितरणको संयोजक गगन थापा हुनुहुन्थ्यो । वितरण गरेको क्रियाशील फारम सिरियल नम्बर नहाली पठाइएको पाइयो । त्यसमा के उद्देश्य थियो, त्यसमा उहाँहरुले नै जान्नुहोला । त्यसले गर्दा नियमित अधिवेशन हुन सकेन । पुस मसान्तभित्र विशेष बोलाउनुपर्ने बाध्यता पनि थियो । तर नियमित अधिवेशन नै तोकिसकेपछि केन्द्रीय समितिले विशेषलाई निस्क्रिय बनाएको थियो । तर अब कानुन सम्मत के हो भन्ने बारेमा उक्त विषय निर्वाचन आयोग गइसकेको छ ।

संस्थापन पक्षको कारबाही विधिसम्बत छैन्

आयोगमा निर्वाचन राजनीतिक दल सम्बन्धी ऐन २०७३ छ। त्यसमा विवाद निरुपण कसरी गर्ने भन्ने विषयमा दफा ४३, ४४ र ४५ मा यसको व्यवस्था गरेको छ। निरुपणको कार्यविधिमा दलको नाम, दलको छाप, दलको विधान झण्डा वा चिन्ह वा केन्द्रीय समितिको निर्णय आवश्यक ठानेको छ। आधिकारिकता सम्बन्धी व्यवस्था चाहीं दफा ४४ ले गरेको छ। त्यसमा आयोगले उपदफा १ बमोजिमको दाबी सम्बन्धमा लिखित जवाफ परिसकेपछि १५ दिनभित्र लिखित जवाफ लिएर आउन भनेर अर्को पक्षलाई सूचना पठाउँछ। १५ दिनभित्र लिखित जवाफ लिएर आयो भने आयो आएन भने अरु १० दिन फेरी म्याद थप गर्न सक्ने अवस्था छ । त्यो २५ दिनभित्र निर्वाचन आयोगले प्रमाण हेरेर निर्णय गर्छ । अर्को कुरा केन्द्रीय समितिले गणपुरक संख्या पुर्याएर महामन्त्रीलगायतलाई कारबाही गरिएको भनिएको छ। यस्तो कारबाही वैधानिक छैन भन्ने तर्क गर्न सकिन्छ। एउटा प्राकृतिक न्यायको सिद्धान्त अन्तर्गत कारबाही गर्नको लागि पूर्वसूचना दिनुपर्छ । स्पष्टीकरणको एउटा मौका दिनुपर्छ भन्ने प्राकृतिक न्यायको सिद्धान्त छ। त्यो मौका समेत नदिकन गरेको कारबाही हो भन्ने तर्कलाई फरक ढंगले विश्लेषण गर्नुपर्छ। विवाद निरुपणको सम्बन्धी एउटा सुनुवाई नै हुन्छ ।

निर्वाचन आयोगले कुनैपनि पक्षलाई आधिकारिकताको घोषणा गर्दैन 

एउटाले उजुरी र अर्कोले लिखित जवाफ दिइसकेपछि विवाद निरुपण सम्बन्धी सुनवाई हुन्छ। र आधिकारिकता पाउँछ भन्ने विषय निर्वाचन आयोगको पोल्टामा छ। तर, दल सम्बन्धी नियमावलीको नियम १३ ले धेरै कुरा बोलेको छ। नियम २३ को उपनियम ६ मा पनि व्यवस्था छ । अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि निर्वाचन अवधिभर विवाद निरुपण सम्बन्धमा कुनै कारबाही गरिने छैन पनि भनिएको छ। यसको मतलब अब माघ ६ गते नोमिनेसन छ। नोमिनेसन भएपछि त निर्वाचनको प्रक्रिया सुरु हुन्छ । ६ गतेदेखि फागुनको २१ गते निर्वाचन सम्पन्न नहुन्जेल आयोगले कुनैपनि पक्षलाई आधिकारिकताको घोषणा गर्दैन। अब त्यो भन्दा पहिला गर्न सम्भव छ त भन्ने प्रश्न उठ्न सक्छ। त्यसको संभावना देखिदैन् ।

देउवा पक्ष नै आधिकारिक तर, मुद्दा सर्वोच्चमा पुग्छ

गगन थापा नेतृत्वको पक्षले आयोगमा अधिवेशन गर्यौ भनेर कागजात बुझाइसक्नु भएको छ। तर गगनजीहरुकै मिटिङले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा हो भनेर पहिल्यै दर्ता गरिसकेको छ। देउवा पक्षको हस्ताक्षरबाट आम निर्वाचनमा जान्छौं भनेर राष्ट्रिय सभाको उम्मेदवारहरुको मनोनयनमा देउवाले कार्यवाहक दिएका पूर्णबहादुर खड्काले हस्ताक्षर गरेर बुझाई सक्नु भएको छ। र समानुपातिकको बन्द सुचीमा पनि देउवाले नै हस्ताक्षर गरेर बुझाइसकेको अवस्था छ। त्यसैले फागुन २१ मा हुने आम निर्वाचनमा देउवा नै आधिकारिक हो भन्ने देखाउँछ । त्यसलाई नै आधिकारिकता भन्न आयोगले कत्तिको आँट गर्छ, त्यसमा केही भन्न सकिदैन् । यता, गगन थापा नेतृत्वको दस्तावेज आयोगले बुझिसकेपछि १५ दिनको म्याद दिएर सानेपालाई चिठी काट्न सक्छ । १५ दिनभित्र लिखित जवाफ लिएर आउनु भन्नसक्छ। तर, निर्वाचनको नोमिनेशन माघ ६ गते नै भएकाले यसको विवाद अहिले नै टुंगिन्छ भन्ने छैन् । मुद्दा सर्वोच्च अदालत नै पुग्छ। अदालतले कुन रुपमा हेर्छ वा कस्ता नजिरहरु छन् भन्ने विषयमा यकिन भन्न सकिन्न। कानुन सम्मत र कानुनलाई मान्ने हो भने त कुनैबेला केपी ओली नै आधिकारिक थिए तर त्यो कुरा मानेको देखिएन। सुशीला कार्कीलाई नै प्रधानमन्त्री बनाइयो । कतिपय अवस्थामा आवश्यकताको सिद्धान्तलाई हेर्ने गरिन्छ ।

महाधिवेशन प्रतिनिधिको सवालमा नयाँ बसह सिर्जना

हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनको सन्दर्भमा कुरा गर्दा राजनीतिक दल सम्बन्धी ऐन वा निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधि भन्ने चिन्दैनजस्तो लाग्छ। उसले चिन्ने भनेको केन्द्रीय कार्यसमिति मात्र हो। केन्द्रीय कार्यसमितिको पदाधिकारी र सदस्यहरुको बहुमत कता छ त्यसैले आधिकारिकिता पाउँछ भनेर यो उपदफा ६ मा उल्लेख छ । त्यसैले देउवा नेतृत्वले नै आधिकारिता पाउँछ भन्ने देखिन्छ । तर यसमा कानुनलाई भन्दा पनि डिजाइनलाई हेर्ने प्रचलन छ । अर्को उपदफा ७ पनि छ । उपदफा ६ बमोजिम निर्णय गर्दा कुनै पक्षको बहुमत नदेखिएमा आयोगले विवादको पक्षहरुबाट पेश भएका प्रमाण सम्बन्धित दलको विधान र अन्य सम्बन्धित कानुन बमोजिम निर्णय गर्नुपर्ने छ भन्ने कुरा छ। यसमा बहुमत नदेखिएमा कार्य समितिको कुरा गरेको छ। केन्द्रीय कार्य समितिको पदाधिकारी र सदस्यहरु मध्ये जुन पक्षसँग त्यस्तो समितिको बहुमत छ त्यसैलाई आधिकारिक मान्यता दिने भनेकै छ। तर अधिवेशन गरेको अध्यावधिक लिएर आयोग गएको खण्डमा त्यसले अलग्गै बहस सिर्जना गराउँछ ।

विशेष अधिवेशन र नियमित अधिवेशन फरक हुन 

विशेष अधिवेशन र नियमित अधिवेशनको कुरा जुन छ त्यो एउटै हो भन्ने आम बुझाइ छ । तर एउटै होइन । विशेष अधिवेशन भनेको विशेष एजेन्डाको लागि बोलाइने हो । नेतृत्व परिवर्तन हो कि नीतिगत परिवर्तन हो कि, विधान परिवर्तनको लागि हो भन्ने कुरा स्पष्ट खुल्नुपर्छ । नियमित अधिवेशनको कार्यविधि छ। कसरी गर्ने भन्ने स्पष्ट बोलेको छ । तर विशेष अधिवेशनका सन्दर्भमा विधान धेरै बोलेको छैन् । धारा १७ को दुईमा विशेष अधिवेशन बोलाउन सक्ने भन्ने मात्र छ । यसको कार्यविधि छैन् । के एजेन्डाका लागि विशेष बोलाउने भन्ने बारेमा स्पष्ट हुनुपर्छ भनेको छ । नेतृत्व परिवर्तन हो कि महामन्त्री मात्रै परिवर्तन हो कि वा सम्पूर्ण पदाधिकारी परिवर्तन हो अथवा विधान संशोधन गर्ने हो स्पष्ट हुनुपर्छ । विशेष महाधिवेशनका सन्दर्भमा विधान स्पष्ट नभएकाले नेतृत्व परिवर्तनको कुरा विवादमा पर्नसक्छ। किनकी मंसिरबाट महाधिवेशन प्रतिनिधि र केन्द्रीय समितिको म्याद सकिसकेको छ। तर कार्यसमिति एक वर्षसम्म म्याद थप गर्नसक्ने व्यवस्था छ । त्यो तदर्थ समिति जस्तै हो। पुरानै प्रतिनिधिहरुलाई उपस्थित गराएर नेतृत्व परिवर्तन गर्ने काम आधिकारिक नहुनसक्छ । किनकी हालका महाधिवेशन प्रतिनिधि अवैध हुन्, विधानले त्यही बोल्छ । यसमा केन्द्रिय समिति पनि अवैध हुन्थ्यो तर विधानले एक वर्ष म्याद थप गर्ने सुविधा दिएको छ । हाल बैशाख मसान्तसम्म नियमित महाधिवेशनको कार्यतालिका पनि ल्याइसकेको अवस्था छ । त्यस कारण केन्द्रीय समिति अवैध भयो भन्न मिल्दैन।

त्यसैले कांग्रेसको विधान मान्ने हो भने कानुन मान्ने हो भने निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐनलाई हेरेर निर्णय गर्नुपर्ने हुन्छ।
मंसिरमा फेरि अर्को नयाँ दलसँग एकीकरण भयो भने म्याद थप्न सक्ने सुविधा पनि छ। कतिपयले कांग्रेस विभाजन भएको भनिरहेका छन्, त्यसमा सत्यता छैन्। किनकी अलग–अलग दल भइसकेका छैनन् । तर, कार्यकर्ताहरुको मन चाहीं विभाजित भइसकेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit