काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्यका लागि आज भएको निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
कोशी प्रदेशबाट नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनका उम्मेदवार विजयी भएका छन् । खस आर्यतर्फ कांग्रेसका सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । दलित समूहमा एमालेका सोमनाथ पोर्तेल सात हजार ४२३ मतभार ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का खेमराज सुन्दासले दुई हजार ३७ मत पाएको आयोगले जनाएको छ । महिला समूहमा पनि गठबन्धनकै एमालेका रोशनी मेचे विजयी भइन् । उनले सात हजार १७३ मतभार पाइन। निकटतम प्रतिद्वन्द्वी नेकपाकी नमिता न्यौपानेले दुई हजार २६८ मतभार ल्याइ । कोशी प्रदेशमा कुल मतदाता ३६० रहेकामा ३४५ मत खसेका थिए ।
मधेस प्रदेशमा पनि तीन दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ कांग्रेसका उम्मेदवार रञ्जितकुमार कर्ण एवं धर्मेन्द्र पासवान, (लोसपा हाल जनता समाजवादी पार्टी (जसपा), नेपाल) का महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा निर्वाचित भए। कर्णले आठ हजार ९३ मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपाका रामनन्दन प्रसादले एक हजार ३६१ मतभार ल्याए ।
यस्तै, पासवानले सात हजार ९०४ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका शम्भु पासवान हजारीले एक हजार ३७६ मत पाएको आयोगले जनाएको छ । ठाकुरले सात हजार ७२५ मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले एक हजार ८०५ मतभार पाए । यसैगरी झाले सात हजार २२२ मतभार प्राप्त गर्दा नेकपाका शमीकुमारी अग्रवालले एक हजार ९४४ मतभर प्राप्त गरिन । मधेस प्रदेशमा ३६४ मतदाता रहेकामा ३४१ मत खसेको आयोगले जनाएको छ ।
बाग्मती प्रदेशमा गठबन्धनबाट कांंग्रेसका गीता देवकोटाले छ हजार २३९ मतभारसहित विजयी भइन । प्रतिस्पर्धी नेकपाकी सरोजकुमारी झाले दुई हजार ५२२ मतभार पाइन । देवकोटाका प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मत पाएको आयोगले जनाएको छ । बाग्मती प्रदेशमा ३३८ मत रहेकामा ३१८ मत खसेको थियो ।
गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिनाले पाँच हजार ३३ मतभार प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी नेकपाका कपिल लामाले ९४१ मत ल्याए। महिला समूहमा एमालेकी सम्झना देवकोटा पाँच हजार १४ मतभारसहित विजयी भए भने प्रतिस्पर्धी नेकपाकी गोमा लुइँटेल घिमिरेले ९४१ मत पाइन। उक्त प्रदेशमा २२८ मतदाता रहेकामा २२३ मत खसेको थियो ।
यसैगरी, लुम्बिनी प्रदेशमा गठबन्धनबाट अपाङ्गतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जङ्गली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भए । महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाँक्री विजयी भइन । जङ्गलीले पाँच हजार ३२२ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी नेकपाका सजन विकले एक हजार ६०१ मतभार ल्याए । केसीले पाँच हजार ९७७ मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपाका बृहस्पति अधिकारीले एक हजार ८३२ मत प्राप्त गरे । यस्तै, झाँक्रीले छ हजार ३३० मतभार पाउँदा नेकपाका उम्मेदवार दुर्गा भण्डारीले एक हजार ३६२ मतभार पाए । लुम्बिनी प्रदेशमा २९९ मतदाता रहेकामा २८६ मत खसेको थियो ।
कर्णाली प्रदेशमा पनि गठबन्धनबाट कांग्रेस कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही र एमालेका मीनासिंह रखाल विजयी भएका छन्। शाहीले तीन हजार २७८ र रखालले तीन हजार १४५ मतभारसहित विजयी भएका हुन् । शाही अन्य र रखाल महिला समूहबाट विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपाबाट बुद्धिप्रसाद शर्माले एक हजार ६३९ र अञ्जु महतरा (शाही) ले एक हजार ७३४ मतभार प्राप्त गरेको आयोगले जनाएको छ । कर्णाली प्रदेशमा १९८ मतदाता रहेकामा १९१ मत खसेको छ ।
सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका खम्बबहादुर खाती र एमालेका लीला भण्डारी विजयी भए । खातीले तीन हजार ९६९ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका टिकाराम जैशीले एक हजार ८०५ मतभार पाए । यस्तै, भण्डारीले तीन हजार ८९४ मतभार प्राप्त गर्दा उनका निकतम प्रतिस्पर्धी नेकपाका रोजी बस्नेतले एक हजार ६७६ मत ल्याइन । सुदूरपश्चिम प्रदेशमा २२४ मतदाता रहेकामा २२० मत खसेको थियो ।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ कायम गरिएको थियो । निर्वाचनमा कांग्रेस नौ, एमाले आठ र लोसपालाई एक गरी तीन दलीय गठबन्धन भएको थियो । लोसपाको मधेस प्रदेशमा मात्र उम्मेदवारी परेको थियो ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्