काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० जना घाइते भएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएकी छन् ।
स्थानीय समयअनुसार साँझ ६ बजेतिर एक मिनेटको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित देशका विभिन्न क्षेत्रमा व्यापक क्षति पुगेको छ। दर्जनौँ भवनहरू भत्किएका छन् भने हजारौँ नागरिक घर तथा कार्यालयबाट बाहिर निस्कएर ज्यान जोगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति रोड्रिग्जले ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको बताइन्। उनका अनुसार उक्त क्षेत्रमा गम्भीर मानवीय संकट उत्पन्न भएको छ र भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मी तथा आपत्कालीन टोलीहरू निरन्तर परिचालन गरिएका छन्।
भूकम्पका कारण देशको मुख्य हवाई प्रवेशद्वार सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा समेत क्षति पुगेको छ। क्षतिको मूल्याङ्कन भइरहेकाले विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। साथै विद्यालयहरू केही दिनका लागि बन्द गरिएका छन् र केही शैक्षिक संस्थालाई अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्रका रूपमा प्रयोग गरिने जनाइएको छ।
सरकारले स्वास्थ्यकर्मीहरूलाई अस्पतालमा उपस्थित भई घाइतेहरूको उपचारमा सहयोग गर्न आह्वान गरेको छ। प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचार सेवाहरू तीव्र पारिएको छ भने क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार पहिलो भूकम्पको केन्द्र काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा रहेको मोरोन क्षेत्र नजिक २२ किलोमिटर गहिराइमा थियो। त्यसको करिब एक मिनेटपछि दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो।
भूकम्पपछि राजधानीका केही क्षेत्रमा विद्युत् सेवा तथा मोबाइल सञ्जाल अवरुद्ध भएको छ। मेट्रो सेवा र प्राकृतिक ग्यास आपूर्ति पनि अस्थायी रूपमा बन्द गरिएको छ। सम्भावित परकम्पको जोखिमलाई ध्यानमा राख्दै नागरिकहरूलाई खुला स्थानमा बस्न आग्रह गरिएको छ।
भूकम्पको प्रभाव छिमेकी देशहरू ब्राजिल र कोलम्बियासम्म महसुस भएको छ। अन्तर्राष्ट्रिय समुदायले पनि भेनेजुएलालाई सहयोगको प्रस्ताव गरेका छन्। संयुक्त राज्य अमेरिका, चिली, एल साल्भाडोर र इक्वेडरले आवश्यक मानवीय सहायता उपलब्ध गराउन तत्पर रहेको बताएका छन्।
प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक रूपमा सुनामीसम्बन्धी चेतावनी जारी गरे पनि पछि उक्त चेतावनी फिर्ता लिएको जनाएको छ। उद्धारकर्मीहरूले भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखेकाले क्षतिको विवरण अझै बढ्न सक्ने अनुमान गरिएको छ। एपी














प्रतिक्रिया दिनुहोस्