Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

मुगुका चार स्थानीय तहले एकै दिन सार्वजनिक गरे बजेट, राराले बढायो दलित समुदायलाई दिँदै आएको चाडपर्वमा भत्ता

मुगुका चार स्थानीय तहले एकै दिन सार्वजनिक गरे बजेट, राराले बढायो दलित समुदायलाई दिँदै आएको चाडपर्वमा भत्ता
विज्ञापन
Advertisement

मुगु । हिमाली जिल्ला मुगुका एक नगरपालिका र तीन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बुधबार एकै दिन बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका तथा सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनअनुसार आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका हुन्।

छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६५ करोड २१ लाख ४२ हजार २१ रुपैयाँ बराबरको बजेट ल्याएको छ। १९औँ नगरसभामा प्रस्तुत बजेटमध्ये चालुतर्फ २६ करोड ८ लाख ५६ हजार रुपैयाँ र पुँजीगततर्फ ३९ करोड १२ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख ऐश्वर्या शाही मल्लले जानकारी दिइन्।

यस्तै, सोरु गाउँपालिकाले १८औँ गाउँसभामार्फत ५० करोड ६६ लाख ५८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष केशरबहादुर शाहीका अनुसार बजेटमध्ये ३१ करोड १२ लाख ३० हजार रुपैयाँ चालुतर्फ र १९ करोड ५४ लाख २८ हजार रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ। गाउँपालिकाले दोमुख बेलिब्रिज निर्माणका लागि १ करोड रुपैयाँ, सिरुपाटा सडकका लागि ३१ लाख रुपैयाँ तथा पर्यटन प्रवर्द्धन र खेलकुद क्षेत्रका लागि ४६ लाख रुपैयाँ बजेट छुट्याएको जनाएको छ।

यसैगरी, खत्याड गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड ९८ लाख १८ हजार रुपैयाँको बजेट ल्याएको छ। गाउँपालिका अध्यक्ष अजबहादुर शाहीका अनुसार कुल बजेटमध्ये ५४ करोड ६७ लाख १८ हजार रुपैयाँ चालुतर्फ र १४ करोड ३१ लाख रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ।

त्यसैगरी, मुगुम कार्मारोङ गाउँपालिकाले ४५ करोड १६ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार बजेटमा वन्यजन्तु संरक्षण, जडीबुटी, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ।

चारवटै स्थानीय तहले सार्वजनिक गरेका नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, खानेपानी, सरसफाइ तथा श्रमदान बैंकलाई विशेष प्राथमिकतामा राखिएको छ। दुर्गम हिमाली जिल्लाको आवश्यकता र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, वातावरणीय तथा सुशासनका कार्यक्रम अघि बढाइने जनाइएको छ।

छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैंलगायतका चाडपर्वमा वितरण गर्दै आएको भत्ता २ हजार ५ सय रुपैयाँबाट बढाएर ३ हजार ५ सय रुपैयाँ पुर्‍याएको छ। साथै, ‘एकल महिलासँग नगर उपप्रमुख भेटघाट’ कार्यक्रमलाई थप प्रभावकारी बनाइने तथा अपाङ्गता परिचयपत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

रारा ताल नगरपालिकाको क्षेत्रभित्र पर्ने भएकाले पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिँदै रारा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण तथा समग्र विकासका लागि गुरुयोजना तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

सोरु गाउँपालिकाले कर्णाली करिडोरसँग जोडिएको दोमुख–गमगढी सडकखण्डअन्तर्गत सिस्नेखर्क बेलिब्रिज निर्माणलाई प्राथमिकतामा राखेको छ। गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार स्थानीय आवश्यकतामा आधारित विकास आयोजना, सुशासन प्रवर्द्धन तथा नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले बजेट विनियोजन गरिएको हो।

स्थानीय तहहरूले सार्वजनिक गरेका नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासमार्फत समृद्ध मुगु निर्माणको लक्ष्य अघि सारेका छन्। दान बहादुर बुढा

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit