काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सो अवधिमा बहुआयामिक गरिबीको दर २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने लक्ष्य नेकपाले राखेको छ । यस्तै, प्रतिबद्धता पत्रले अर्थतन्त्रको मोडललाई आयात–निर्भर तथा उपभोगमुखीबाट उत्पादनमुखी, निर्यात प्रवद्र्धन तथा आत्मनिर्भर मोडलमा सिफ्ट गर्ने विषयलाई विशेष जोड दिएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा आर्थिक मोडल परिवर्तनका लागि निम्न उद्देश्यहरू निर्धारण गरिएका छन् :
.प्राकृतिक स्रोतहरूको विवेकशील तथा दिगो उपयोग, स्वदेशी तथा वैदेशिक लगानी वृद्धि, सामूहिकता तथा सहकारितामा आधारित उत्पादन प्रणालीको विकास, स्रोत साधनको दक्षतापूर्ण विनियोजनमार्फत आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि दर हासिल गर्ने। आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गर्दै बहुआयामिक गरिबीको दरलाई २०.१५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने ।
.राज्य संरक्षित कृषि तथा औद्योगिकरण नीतिमार्फत उत्पादन क्षेत्रहरूलाई संरक्षण तथा प्रवद्र्धन गर्ने ।
.आयात निर्भरता क्रमशः न्यूनीकरण गर्दै स्वदेशी निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्ने तथा वैदेशिक लगानीलाई उत्पादन, प्रविधि हस्तान्तरण तथा रोजगारीसँग जोड्ने ।
.प्राकृतिक स्रोतहरूको विवेकपूर्ण उपयोग गर्दै हरित तथा डिजिटल अर्थतन्त्रको जग बसाल्ने ।
.निजी, सहकारी तथा सार्वजनिक क्षेत्रबीच सन्तुलित तथा पूरक विकास मोडल अपनाउँदै समाजवाद उन्मुख अर्थतन्त्रको ठोस आधार तयार पार्ने ।
.प्रत्येक प्रदेशलाई विशिष्ट आर्थिक क्रियाकलापको क्षेत्रको रूपमा विकास गर्ने ।
प्राथमिकता क्षेत्रहरू तथा रणनीतिहरू
.कृषि तथा ग्रामीण अर्थतन्त्र रूपान्तरण : व्यावसायिक तथा सामूहिक खेती, उन्नत प्रविधि, सिँचाइ तथा बजार सुनिश्चितता। खाद्यमा पूर्ण आत्मनिर्भरता तथा प्राकृतिक स्रोतहरू (५ ज) को विवेकपूर्ण उपयोग।
.ऊर्जा तथा पूर्वाधार विकास : जलविद्युत्, नवीकरणीय ऊर्जा तथा एकीकृत कोरिडोर निर्माण ।
.औद्योगिक तथा उद्यमशीलता प्रवर्द्धन स्वदेशी उद्योग, नवप्रवर्तन–स्टार्टअप, साना तथा मझौला उद्यम प्रोत्साहन, प्रादेशिक विशिष्ट आर्थिक अभियान ।
.सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्र : डिजिटल पूर्वाधार, ई–कमर्स तथा आईटी उद्योग विकास, नीतिगत सुधार ।
.पर्यटन तथा सेवा क्षेत्रको गुणस्तरीय विकास : साहसिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटन प्रवद्र्धन ।
.सामाजिक क्षेत्र : शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा समावेशी विकासमा लगानी ।
नेकपाले आर्थिक सुधारको नयाँ चरणलाई प्रभावकारी बनाउन अर्थतन्त्रको मोडल परिवर्तन गर्नेमा जोड दिएको छ। त्यसका लागि उत्पादनमूलक रोजगारी, निजी क्षेत्र प्रवद्र्धन तथा साझेदारी तथा अर्थतन्त्रको पुनर्संरचनाका लागि विभिन्न कार्यक्रमहरु प्रस्ताव गरेको छ ।
उत्पादनमूलक रोजगारीः सार्वजनिक तथा निजी स्वामित्वको बाँझो जमिन तथा स्रोतहरू उत्पादनमूलक रूपमा उपयोग गरी प्रतिवर्ष १ लाख ५० हजार अतिरिक्त रोजगारी थप्ने। विदेशबाट फर्किनेहरूका लागि रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन।
.निजी क्षेत्र प्रवद्र्धन तथा साझेदारी : लगानी सुरक्षा, एकद्वार प्रणाली तथा सिण्डिकेट हटाउने।
.सामूहिकता तथा सहकारिताः स–सानो जमिन एकीकृत गरी ठूला फार्म सञ्चालन, सहकारी उद्योग प्रवद्र्धन तथा अर्थतन्त्रका तीन खम्बालाई सुदृढ गर्दै सामुदायिक क्षेत्रलाई चौथो खम्बा बनाउने।
.अर्थतन्त्रको पुनर्संरचना : उत्पादन लागत घटाउने, डिजिटल अर्थतन्त्र विकास, अनौपचारिक क्षेत्रलाई समावेशी बनाउने, आयात प्रतिस्थापन तथा निर्यात वृद्धि।
.सामाजिक क्षेत्रमा लगानी : गुणस्तरीय शिक्षा तथा स्वास्थ्यमा समान पहुँच।
.प्राकृतिक स्रोत–साधनको उपयोग बढाउने :जमिन, जल, जंगल तथा खनिजको विवेकपूर्ण प्रयोग।
संघीय प्रणालीको प्रभावकारी प्रयोगः प्रदेशहरूमा औद्योगिक तथा कृषि करिडोर निर्माण।
वित्तीय क्षेत्र सुधार
अर्थतन्त्रको मोडल सिफ्टलाई समर्थन गर्न वित्तीय क्षेत्रमा पनि नयाँ कदमहरू नेकपाले चाल्ने जनाएको छ।
–बैंकहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी प्रोत्साहन।
–साना तथा मझौला कर्जाको लक्ष्य निर्धारण।
–सहकारी क्षेत्रको पुनरुत्थानका लागि विशेष प्याकेज।
–फिनटेक अवधारणामार्फत वित्तीय सेवालाई सरल तथा पारदर्शी बनाउने आदी ।
नेकपाले यो आर्थिक सुधारको नयाँ चरणलाई समाजवादका आधार निर्माणको रूपमा प्रस्तुत गर्दै नेपाललाई आत्मनिर्भर तथा समृद्ध बनाउने दाबी गरेको छ। पार्टीको प्रतिबद्धताका अनुसार, यो मोडल सिफ्टले मात्र वर्गीय शोषण, असमानता तथा परनिर्भरताको अन्त्य सम्भव भएको उल्लेख छ ।

















प्रतिक्रिया दिनुहोस्