Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

युक्रेन युद्ध अन्त्यका लागि चीनको संलग्नता आवश्यक : जर्मन चान्सलर मर्ज

युक्रेन युद्ध अन्त्यका लागि चीनको संलग्नता आवश्यक : जर्मन चान्सलर मर्ज
विज्ञापन
Advertisement

काठमाडौं । युक्रेन युद्ध अन्त्यका लागि चीनको प्रभाव प्रयोग गर्न जर्मनीका चान्सलर फ्रेडरिक मर्ज बुधबार दुई बेइजिङ पुगेका छन् । युक्रेन युद्ध अन्त्यसँगै जर्मन कम्पनीहरूका लागि निष्पक्ष व्यापार वातावरणको मागसहित जर्मनीका चान्सलर मर्ज बुधबार दुई दिने भ्रमणका लागि बेइजिङ गएका हुन् । युरोपेली एकतामार्फत सन्तुलित र भरपर्दो साझेदारी निर्माण गर्ने सन्देशसहित उनले चिनियाँ शीर्ष नेतृत्वसँग भेटवार्ता गर्न लागेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

बेइजिङ अवतरणअघि उनले जर्मनीको चीन नीतिलाई युरोपेली सन्दर्भमा राख्नुपर्नेमा जोड दिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री किर स्टार्मरको भ्रमणपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावित यात्राअघि आफू चीन आएको उल्लेख गर्दै मर्जले युरोपको साझा दृष्टिकोण स्पष्ट पारे । ‘हामी चीनसँगको साझेदारी सन्तुलित, भरपर्दो, विनियमित र निष्पक्ष चाहन्छौँ’, उनले भने, ‘र यही अपेक्षा चिनियाँ पक्षबाट पनि गर्छौं ।’ गत मे महिनामा पदभार सम्हालेपछि पहिलो पटक चीन भ्रमण गरेका मर्जले उदीयमान विश्व व्यवस्थामा आर्थिक र सैन्य रूपमा सबल युरोप आवश्यक रहेको धारणा दोहोर्‍याए । ट्रम्प प्रशासनको कर नीतिले प्रभावित युरोपले सुरक्षा र रणनीतिक जिम्मेवारी आफैँ वहन गर्नुपर्ने अवस्था आएको उनको बुझाइ छ ।

युक्रेन युद्धको सन्दर्भमा उनले बेइजिङको भूमिकालाई नै निर्णायक ठानेका छन् । ‘चीनलाई संलग्न नगरी आजका ठूला विश्व राजनीतिक समस्या समाधान गर्न सकिँदैन’, मर्जले प्रस्थानअघि भने, ‘मस्कोमा समेत बेइजिङको आवाज सुनिन्छ ।’ यद्यपि, रुससँग व्यापारिक र कूटनीतिक सम्बन्ध कायम राख्दै आएको चीनले युद्धप्रति निष्पक्ष अडान लिएको दाबी गर्दै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सबै पक्षलाई ‘स्थायी र बाध्यकारी शान्ति सम्झौताका लागि अवसर उपयोग गर्न’ आह्वान गरेका छन् ।

चीनले अमेरिकी कर नीतिविरुद्ध समर्थन खोजिरहेका बेला मर्जको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सिन्ह्वा समाचार एजेन्सीले चीन र जर्मनीलाई बहुपक्षवादका समर्थक प्रमुख अर्थतन्त्रका रूपमा चित्रित गर्दै आपूर्ति शृङ्खला स्थिर राख्ने साझा जिम्मेवारी रहेको उल्लेख गरेको छ। आर्थिक असन्तुलन जर्मनीका लागि मुख्य चासो बनेको छ। गत वर्ष चीनबाट जर्मनीको आयात ८.८ प्रतिशतले बढेर एक खर्ब ७० अर्ब ६० करोड युरो पुगेको छ भने चीनतर्फ निर्यात ९.७ प्रतिशतले घटेर ८१ अर्ब ३० करोड युरोमा सीमित भएको छ। चिनियाँ निर्यातको बाढीले युरोपेली उद्योग र रोजगारीमा दबाब सिर्जना गरेको विश्लेषण गरिएको छ ।

युरोपेली नेताहरू चिनियाँ कम्पनीहरूले युरोपमै उत्पादन आधार विस्तार गरून् भन्ने चाहना राख्दै आएका छन्। साथै विद्युतीय सवारीसाधन र सौर्य प्यानल क्षेत्रमा देखिएको अतिक्षमता घटाउन, निर्यात तथा पहुँच प्रतिबन्ध हटाउन र प्रतिस्पर्धा विकृत गर्ने अभ्यास रोक्न आग्रह गरिएको छ। ‘जहाँ प्रणालीगत अतिक्षमता र पहुँच अवरोध छन्, त्यहाँ समाधान खोज्न हामी छलफल गर्न चाहन्छौँ’, मर्जले स्पष्ट भने ।

मर्जको यो भ्रमणले युरोप–चीन सम्बन्धलाई नयाँ सन्तुलनमा लैजाने प्रयाससँगै युक्रेन युद्ध समाधानका लागि बेइजिङमाथि कूटनीतिक दबाब बढाउने सङ्केत दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit