बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र अमेरिकाले प्रतिद्वन्द्वीभन्दा साझेदारको रूपमा अघि बढ्नुपर्ने बताएका छन्। बिहीबार साँझ बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्मानमा आयोजित राजकीय भोजलाई सम्बोधन गर्दै उनले दुई देशबीच स्थिर र दिगो सम्बन्ध आवश्यक रहेको बताएका हुन्।
सी जिनपिङले चीनको “महान् कायाकल्प” र ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियान सँगसँगै अघि बढ्न सक्ने उल्लेख गरेका छन। उनले चीन र अमेरिकाबीचको सहयोगले दुवै देशलाई लाभ पुग्ने तथा टकरावले दुबै पक्षलाई क्षति हुने धारणा राखेका हुन।
‘हामीले हाम्रो सम्बन्धलाई सफल बनाउनुपर्छ, बिगार्न हुँदैन। चीन र अमेरिका प्रतिद्वन्द्वी होइनन्, साझेदार हुनुपर्छ,’ सीले भने। उनले विश्वमा शान्ति, समृद्धि र प्रगति प्रवर्द्धन गर्न रणनीतिक स्थिरतामा आधारित चीन–अमेरिका सम्बन्ध निर्माणमा सहमति भएको पनि बताए।
अमेरिकी राष्ट्रपति ट्रम्प बुधबारदेखि शुक्रबारसम्म चीनको राजकीय भ्रमणमा रहेका छन्। नोभेम्बर २०१७ मा ट्रम्पले बेइजिङ भ्रमण गरेपछि करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिको चीन भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्