काठमाडौं । अमेरिका–इसराइल र इरानबीच मध्यपूर्वमा भइरहेको तनावका कारण विश्वभरिका उडानहरू प्रभावित भएका छन्। मध्यपूर्वमा विकसित घटनाक्रमले हवाइ क्षेत्र प्रभावित हुँदा नेपालका उडानहरूमा समेत समस्या देखिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शनिबार १८ वटा हवाइ उडान प्रभावित बन्दा करिब ३ हजार यात्रुलाई असर परेको छ।
नेपाल एयरलाइन्सको काठमाडौंदेखि दमाम, दोहा र दुबई उड्ने तीन वटा उडानहरू रद्द भएका थिए। यी फ्लाइटमा ५०० यात्रु रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै कतार एयरलाइन्सको चार वटा फ्लाइट रद्द हुँदा करिब ८०० यात्रु प्रभावित बनेका छन् । करिब ६०० यात्रु लिएर उडान भर्ने तयारी गरेको फ्लाइ दुबईको चार वटा उडान पनि रद्द भएका थिए ।
त्यसैगरी एयर अरबियाको शारजाह जाने दुई वटा फ्लाइट र हिमालय एयरलाइन्सको ३ वटा दमाम जाने फ्लाइट रद्द गरिएको प्राधिकरणले जनाएको छ । मध्यपूर्वी क्षेत्रमा शनिबार तनाव चुलिदा नेपालका १८ वटा फ्लाइटबाट विभिन्न देशमा यात्रा गर्न लागेका करिब तीन हजार यात्रु अलपत्र जस्तै परेका थिए । फ्लाइट रोकिँदा शनिबार बेलुकी त्रिभुवन विमानस्थलमा यात्रुहरूको भिड लागेको थियो भने घन्टौं बसेर उनीहरू फर्किएका थिए।
आइतबार पनि उडानहरू प्रभावित हुनसक्ने प्राधिकरणले जनाएको छ । कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका विमानस्थल बन्द रहेकाले त्यसतर्फका फ्लाइट आज पनि रद्द हुने सम्भावना बलियो छ ।

















प्रतिक्रिया दिनुहोस्