काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ स्थित हेन्जन दोर्जे प्राइभेट लिमिटेडले अनाधिकृत रूपमा खानी तथा क्रसर उद्योग सञ्चालन गर्दै आएको पत्तालागे सगैँ डिभिजन वन कार्यालयले उद्योग बन्द गरेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार उद्योगले ३ दशमलब ४१ हेक्टर अर्थात् ६७ रोपनी वन क्षेत्र अतिक्रमण गरी उत्खनन् समेत गरेको प्रमाण फेला परेको छ।
डिभिजन वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले कम्पनी दोषी ठहरिएपछि अनुसन्धान टोली गठन गरी थप अनुसन्धान तीव्र पारिएको बताए। टोलीले स्थलगत अध्ययन, प्रमाण संकलन र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जिम्मेवारी पाएको छ। यसैगरी, कम्पनीले अतिक्रमित क्षेत्रबाट कति सामग्री उत्खनन् गरेको छ भन्ने प्राविधिक अनुसन्धान पनि भइरहेको छ।
उद्योगमाथि मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाउने निर्णय स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र सव–डिभिजन वन कार्यालयको समन्वयमा गरिएको हो। प्रारम्भिक अनुसन्धानबाट उद्योगले वर्षौँदेखि वन क्षेत्र अतिक्रमण गरी सञ्चालन गरेको पुष्टि भएको छ।
स्थानीयवासीले उद्योगविरुद्ध पटक–पटक उजुरी दिएका थिए। उजुरीको आधारमा अनुगमन र प्रतिवेदन तयार गरी कारबाही प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ। उद्योग तेमाल–२ का शंकरमान तामाङ र शान्ति लामा तथा पाँचखाल नगरपालिका–११ का राम पन्तको नाममा दर्ता भई सञ्चालन हुँदै आएको पुष्टि भएको छ।
कार्यालयले उद्योगविरुद्ध आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ। यस कदमले वन अतिक्रमण र अनाधिकृत उद्योग सञ्चालनको विरुद्ध कानुनी ढाँचामा कारबाहीको उदाहरण प्रस्तुत गर्ने विश्वास गरिएको छ।















प्रतिक्रिया दिनुहोस्