Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभा आज,नेतृत्व समाल्दै अन्जन श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभा आज,नेतृत्व समाल्दै अन्जन श्रेष्ठ
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ आज आफ्नो ६०औँ साधारणसभासँगै नयाँ नेतृत्वको चरणमा प्रवेश गर्दैछ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बिहान १० बजेबाट सुरु हुने साधारणसभा र निर्वाचन प्रक्रियाले केवल नेतृत्व परिवर्तन मात्र होइन, निजी क्षेत्रको आगामी दिशा र प्राथमिकतासमेत निर्धारण गर्ने अपेक्षा गरिएको छ।

यसअघि चैत २९ र ३० गतेका लागि तय गरिएको साधारणसभा अदालतमा मुद्दा परेपछि रोकिएको थियो, जसले महासंघभित्र केही समय अन्योल सिर्जना गरेको थियो।

नेपालको औद्योगिक र व्यापारिक इतिहाससँग जोडिएको महासंघको स्थापना वि.सं. २०२२ सालमा भएको हो, जुन राजा महेन्द्रद्वारा उद्घाटित प्रथम वाणिज्य तथा औद्योगिक सम्मेलनको निर्णयअनुसार भएको थियो। त्यसयता महासंघले २० जना अध्यक्ष पाइसकेको छ र आज २१औँ नेतृत्व चयन हुँदैछ।

संशोधित विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानले यसपटक अन्जन श्रेष्ठलाई नेतृत्वमा पुर्‍याउँदैछ। वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाल साधारणसभा सकिएसँगै समाप्त हुनेछ र त्यसपछि श्रेष्ठले औपचारिक रूपमा नेतृत्व सम्हाल्नेछन्। यो व्यवस्था अन्तिम पटक लागू हुन लागेको हो, किनकि आगामी कार्यकालदेखि महासंघमा अध्यक्षको प्रत्यक्ष निर्वाचन प्रणाली लागू हुनेछ।

उद्योगदेखि संस्थागत नेतृत्वसम्म ः अन्जन श्रेष्ठको यात्रा

अन्जन श्रेष्ठको महासंघसँगको यात्रा करिब दुई दशक लामो छ। २०४५ सालदेखि व्यवसायमा सक्रिय उनी २०५९ सालमा महासंघको कार्यसमितिमा प्रवेश गरेका थिए।

त्यतिबेलादेखि नै उनले संस्थाभित्र विभिन्न महत्त्वपूर्ण भूमिकामा रहेर आफ्नो क्षमता देखाएका छन्। राजस्व समिति, उद्योग समिति र रोजगारदाता परिषद्मा उनको सक्रिय संलग्नताले उनलाई निजी क्षेत्रका जटिल मुद्दाहरू बुझ्ने र समाधान खोज्ने नेतृत्वका रूपमा स्थापित गरेको छ। विशेषगरी रोजगारदाता परिषद्मा लामो समय काम गर्दा उनले श्रम सम्बन्ध र उद्योग–व्यापारबीचको सन्तुलनमा गहिरो अनुभव हासिल गरेका छन्।

व्यवसायिक रूपमा पनि श्रेष्ठ स्थापित नाम हुन्। लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशकका रूपमा उनले ठूलो व्यावसायिक समूह सञ्चालन गर्दै आएका छन्, जहाँ हजारौंले रोजगारी पाएका छन्।

यसले उनलाई नीतिगत चुनौती, लगानी वातावरण र बजारको वास्तविक अवस्थाबारे प्रत्यक्ष अनुभव दिएको छ, जुन अब महासंघको नेतृत्वमा उपयोगी हुने अपेक्षा गरिएको छ।

नयाँ नेतृत्व आउने यो समय नेपाली अर्थतन्त्रका लागि पनि संवेदनशील छ। लगानी सुस्त भएको, निजी क्षेत्र सतर्क रहेको र नीतिगत स्पष्टता अपेक्षित रहेको अवस्थामा महासंघको भूमिका अझ महत्वपूर्ण बन्नेछ।

यस्तो परिवेशमा अन्जन श्रेष्ठको नेतृत्वले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने, सरकारसँगको संवादलाई प्रभावकारी बनाउने र आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको छ।

यस अर्थमा महासंघको ६०औँ साधारणसभा केवल औपचारिक कार्यक्रम होइन, निजी क्षेत्रको भविष्यसँग प्रत्यक्ष जोडिएको एउटा महत्वपूर्ण मोड हो।

अब सबैको नजर नयाँ नेतृत्वतर्फ छ, जसले चुनौतीपूर्ण परिस्थितिमा निजी क्षेत्रलाई कस्तो दिशा दिन्छ भन्ने आगामी दिनहरूले स्पष्ट पार्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit