Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल विस्तार प्रभावित

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल विस्तार प्रभावित
विज्ञापन
Advertisement

नारायणगढ । बिरामीको चाप बढ्दै जाँदा सेवा विस्तारको आवश्यकता बढे पनि भरतपुर अस्पतालले आफ्नै स्वामित्वको जग्गा उपयोग गर्न नपाउँदा पूर्वाधार विकास प्रभावित बनेको छ । अस्पतालले नयाँ भवन निर्माणदेखि विशेषज्ञ सेवा विस्तारसम्मका योजना अघि बढाउने तयारी गरे पनि जग्गा प्रयोगमा देखिएको अवरोध मुख्य चुनौती बनेको हो ।

विज्ञापन
Advertisement
Advertisement

अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार अस्पतालले भोगाधिकार गर्न पाउने करिब ३० बिघा जग्गामध्ये हाल ११ बिघा मात्रै अस्पताल प्रयोजनमा प्रयोग भइरहेको छ । बाँकी जग्गा विभिन्न संस्था तथा कार्यालयले प्रयोग गरिरहेका छन् ।

उनका अनुसार कलेज अफ मेडिकल साइन्सले नौ बिघा, स्कुल अफ हेल्थ साइन्सले छ बिघा, आँखा अस्पतालले करिब चार बिघा जग्गा प्रयोग गरिरहेका छन् । त्यस्तै रक्तसञ्चार केन्द्र, नेपाल रेडक्रस सोसाइटी, जिल्ला स्वास्थ्य कार्यालय तथा नहर एरिया टोल विकास संस्थाले पनि अस्पतालको जग्गा उपयोग गरिरहेका छन् ।

डा. सापकोटाले ती संस्थासँग लिज ऐनअनुसार सम्झौता गर्न पटकपटक पत्राचार गरिएको भए पनि आवश्यक प्रक्रिया अघि नबढेको बताए । कतिपय संस्थाको हकमा माथिल्लो निकायबाट निर्णय आवश्यक पर्ने भएकाले सम्बन्धित निकायलाई पहल गरिदिन आग्रह गरिएको उनले बताए ।

हाल करिब ६०० शय्यामा सञ्चालन भइरहेको भरतपुर अस्पतालमा दैनिक दुई हजारदेखि तीन हजार बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पताललाई आगामी दिनमा शैक्षिक तथा प्रतिष्ठानका रूपमा विस्तार गर्ने योजना रहेकाले थप संरचना निर्माणका लागि पर्याप्त जग्गा आवश्यक पर्ने अस्पतालको भनाइ छ ।

प्रवक्ता डा. सापकोटाका अनुसार स्टोर भवन, आवास गृह, प्रशासनिक भवन तथा प्रतिष्ठान सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न समेत अहिले जग्गा अभाव भइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit