गोरखा । धान रोपाइँको मुख्य समयमा गोरखामा आवश्यक रासायनिक मलको एकतिहाइ मात्र आपूर्ति भएपछि किसान समस्यामा परेका छन्। जिल्लामा आवश्यक तीन हजार ५०० मेट्रिकटन मलमध्ये हालसम्म एक हजार १०० मेट्रिकटन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोरखाले जनाएको छ।
कार्यालय प्रमुख कुलप्रसाद तिवारीका अनुसार प्राप्त मल कोटा निर्धारण गरी स्थानीय तहलाई उपलब्ध गराइएको छ भने स्थानीय तहले समूह र सहकारीमार्फत किसानलाई वितरण गरिरहेका छन्। मलको माग उच्च रहेकाले आपूर्ति बढाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उनले बताए।
यद्यपि, केही स्थानमा सहकारीका सदस्यलाई मात्र मल वितरण गरिएको तथा अन्य किसानले मल नपाएको गुनासोसमेत आएको कार्यालयले जनाएको छ।
गोरखा नगरपालिका–१० छेपेटारका कृषक विष्णु पाठकले पर्याप्त मल नपाउँदा खेती गर्न कठिन भएको बताए। उनका अनुसार तीन घण्टासम्म लाइनमा बसेपछि पनि पाँच किलो मात्र मल प्राप्त भएको थियो।
महादेवटारी सहकारी संस्थाकी अध्यक्ष शेल्चा तामाङले छेपेटारका करिब १५० कृषक परिवारलाई दामासाहीका आधारमा पाँच–पाँच किलो मल वितरण गरिएको जानकारी दिइन्। उनका अनुसार १०० बोरा मल आवश्यक भए पनि जम्मा १५ बोरा मात्र प्राप्त भएको थियो।
यस्तै, पालुङ्टार नगरपालिका–१० मा धान रोपाइँ सुरु भएको करिब दुई सातासम्म पनि धेरै किसानले मल पाउन सकेका छैनन्। वडा अध्यक्ष रिखीराज धौरालीले वडामा चारदेखि पाँच सय किसान रहे पनि जम्मा ३२ बोरा मल मात्र प्राप्त भएको बताए। उक्त मल दुई सहकारीमार्फत वितरण भइरहेको उनले जानकारी दिए।
धौरालीका अनुसार यस वर्ष चैतमा लगाइएको धान मरुवा रोगका कारण नष्ट भएको थियो। त्यसपछि अहिले मल अभावले किसान थप समस्यामा परेका छन्।
रोपाइँ, गोडमेल र बाला लाग्ने समयमा मलको आवश्यकता बढी हुने भएकाले समयमा पर्याप्त आपूर्ति नहुँदा यस वर्षको धान उत्पादन प्रभावित हुन सक्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्।














प्रतिक्रिया दिनुहोस्