Advertisement
Advertisement
Corporate Samachar
२८ असार २०८३, आईतवार
Advertisement

डिएपीको चरम अभाव झेलिरहेका किसानलाई साल्ट ट्रेडिङको ढाडस– युरियाको अभाव हुँदैन

डिएपीको चरम अभाव झेलिरहेका किसानलाई साल्ट ट्रेडिङको ढाडस– युरियाको अभाव हुँदैन
विज्ञापन
Advertisement

धनगढी। अघिल्ला वर्षझैँ यस वर्ष पनि सुदूरपश्चिमका किसानले रासायनिक मल अभावको समस्या भोग्नुपरेको छ। लामो समयसम्म मलको प्रतीक्षामा बसेका किसान अन्ततः मलविनै धान रोप्न बाध्य भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

धनगढी उपमहानगरपालिका–३ का किसान मनबहादुर चौधरी असारको तेस्रो सातासम्म पनि डिएपी मलको प्रतीक्षामा थिए। मल प्राप्त गर्ने आशामा उनले विभिन्न सहकारी धाए पनि कतै उपलब्ध नभएपछि मलविनै धान रोपाइँ सुरु गर्नुपरेको बताए। ‘मलको प्रतीक्षामा रोपाइँ नै ढिलो हुन थाल्यो। अहिले रोपाइँ सुरु गरेको छु, तर मल पाएको छैन,’ उनले भने, ‘धान रोपाइँका लागि डिएपी मल आवश्यक पर्छ, तर यस वर्ष रोपाइँ सकिने समयसम्म पनि मल प्राप्त हुन सकेन।’

मनबहादुरजस्तै कैलाली र कञ्चनपुरका धेरै किसान यस वर्ष रासायनिक मलको अभावका कारण मलविनै धान रोप्न बाध्य भएका छन्। यतिबेला धानमा मल हाल्ने समय भैसकेकाले बजारमा मल नपाउँदा किसान समस्यामा परेको उनी बताउँछन् ।

सरकारी अनुदानमा रासायनिक मल बिक्री गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार यस वर्ष गत वर्षको तुलनामा कम मात्रामा मल उपलब्ध भएकाले समस्या सिर्जना भएको हो।

कृषि सामग्री कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रादेशिक प्रबन्धक नवलसिंह बोगटीका अनुसार यस वर्ष फागुनयता सुदूरपश्चिममा डिएपी मल आयात हुन सकेको छैन। मौज्दात मल थोरै भएकाले त्यो सबै किसानलाई पर्याप्त भएन। ‘फागुनपछि डिएपी उपलब्ध भएको छैन। मौज्दातमा रहेको थोरै डिएपी सहकारीमार्फत वितरण गरिरहेका छौँ, तर त्यो पर्याप्त हुन सकेको छैन,’ प्रबन्धक सिंहले भने।

बोगटीका अनुसार गत वर्ष साउनदेखि फागुनसम्म सुदूरपश्चिममा १५ हजार ३२७ मेट्रिकटन युरिया, ८ हजार ३८० मेट्रिकटन डिएपी र ८१६ मेट्रिकटन पोटास बिक्री वितरण गरिएको थियो। उनका अनुसार बिक्री भएको अधिकांश डिएपी र युरिया हिउँदे बालीमा प्रयोग भइसकेकाले धान खेतीका लागि आवश्यक मल अपुग भएको हो। सुदूरपश्चिममा धान खेतीका लागि मात्रै कम्तीमा ८ हजार मेट्रिकटन डिएपी आवश्यक पर्ने बताइएको छ।

बोगटीले अमेरिका–इरानबीचको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय आपूर्ति प्रणाली प्रभावित हुँदा समयमै मल आयात गर्न कठिनाइ भएको दाबी गरे। यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख तेजबहादुर कुँवरले पनि यस वर्ष रासायनिक मलको अभाव अझ बढी देखिएको बताए। ‘मल आउँदै नआएको भने होइन, तर तुलनात्मक रूपमा कम मात्रामा आएको छ। यसले धान रोपाइँका बेला किसानलाई समस्या भएको छ,’ उनले भने।

कुँवरका अनुसार गत साउनदेखि हालसम्म ५ हजार ७१.६० मेट्रिकटन युरिया, ५ हजार ७८१ मेट्रिकटन डिएपी र २६४ मेट्रिकटन पोटास भित्रिएको छ। असार २६ गतेसम्म ५ हजार ६१.२० मेट्रिकटन युरिया, ५ हजार ६९०.२० मेट्रिकटन डिएपी र ५०४.१० मेट्रिकटन पोटास बिक्री भइसकेको छ। हाल साल्ट ट्रेडिङसँग ५८.८५ मेट्रिकटन युरिया र ९१.७० मेट्रिकटन डिएपी मौज्दात रहेको कुँवरले जानकारी दिए।बाटो अवरुद्ध हुनु तथा ढुवानी समस्याका कारण पनि डिएपी अभाव भएको उनको भनाइ छ। साल्ट ट्रेडिङसँग केही मात्रामा मल भएपनि किसान भने मल अभावको समस्या भोग्दै आइरहेका छन् । कुँवरका अनुसार भैरहवामा रहेको पुरानो मौज्दातबाट थप ५०० मेट्रिकटन मल उपलब्ध भएको छ र त्यसलाई सहकारीमार्फत किसानसम्म पुर्‍याउने काम भइरहेको छ।

युरियाको अभाव नहुने दाबी

डिएपी अभाव झेलेका किसानका लागि युरिया मल भने सहज रूपमा उपलब्ध हुने वितरक संस्थाहरूले बताएका छन्। सामान्यतया धान रोपेको २५ दिनदेखि एक महिनाभित्र युरिया मल प्रयोग गरिने भएकाले आगामी सातादेखि यसको माग बढ्ने अनुमान गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशिक प्रबन्धक बोगटीले साउन २–३ गतेभित्र थप युरिया सुदूरपश्चिम आइपुग्ने जानकारी प्राप्त भएको बताए।

‘हाल ३३० मेट्रिकटन युरिया मौज्दातमा छ। धेरै किसानले डिएपीसँगै युरिया पनि लगिसकेका छन्। साउनको सुरुआतमै थप युरिया आइपुग्ने भएकाले डिएपीजस्तो अभाव युरियामा हुने छैन,’ उनले बताए। साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कुँवरले पनि युरियामा डिएपीजस्तो समस्या नहुने दाबी गरे। उनका अनुसार धेरै किसानले धानका लागि आवश्यक युरिया यसअघि नै खरिद गरी भण्डारण गरिसकेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit