काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद् केवल कानुन निर्माण गर्ने थलोमात्र नभई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च भएको बताएका छन् ।
उन्नाइसौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले लोकतन्त्रलाई थप सुदृढ, जिम्मेवार र परिणाममुखी बनाउन संसद्को भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका हुन् । उनले लोकतन्त्रको सुदृढीकरणबाट मात्रै सुशासन, भ्रष्टाचार नियन्त्रण, जनमुखी विकास र समृद्ध नेपाल निर्माण सम्भव हुने उल्लेख गरे । ‘आजको दिन नेपाली जनताको लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको ऐतिहासिक उपलब्धिका रूपमा इतिहासमा अङ्कित छ,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।
सभामुख अर्यालले विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, समावेशी शासन प्रणाली र सामाजिक न्यायको दिशामा भएको ऐतिहासिक परिवर्तन भएको बताएका छन् । उनले लोकतन्त्र, गणतन्त्र, मानव अधिकार र सामाजिक न्यायका लागि भएका जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, महिला आन्दोलनलगायत विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै घाइते, बेपत्ता पीडित तथा आन्दोलनका योद्धाप्रति सम्मान व्यक्त गरेका छन् ।
सभामुख अर्यालका अनुसार लोकतन्त्रको वास्तविक अर्थ नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन, अवसरको समान पहुँच, आर्थिक समृद्धि र सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु हो । उनले प्रतिनिधिसभा जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले जनभावना र राष्ट्रिय आकाङ्क्षालाई नीति तथा कानुनमार्फत सम्बोधन गर्ने दायित्व निर्वाह गरिरहेको बताए ।
गणतन्त्र दिवसले राष्ट्रिय एकता, लोकतान्त्रिक संस्कार, संवैधानिक सर्वोच्चता र विकसित नेपाल निर्माणको साझा सङ्कल्पलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै सभामुख अर्यालले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

















प्रतिक्रिया दिनुहोस्